काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट नेपाली अर्थतन्त्रमा सुधार गरी जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताएका छन्।

राष्ट्रपति पौडेलले नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ समारोहलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो। आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो। रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्धन गरी औधोगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरूरी छ।’

न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको उनले बताए।

राष्ट्रपति पौडेलले सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रबर्घन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारकोरूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको पनि उनले उल्लेख गरेका छन्।