झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन्। 
दमकमा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरताको बाटोमा अघि बढेको बताएका हुन् ।
उनले नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजेझैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याएको आरोप लगाए। 
'देश अब कानुन र विधिअनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरू, आगजनी गर्नेहरू, रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्ँयाकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन। त्यस्ताहरूको अशली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकेको छ,' उनले भने, 'विगमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए। अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए। तर, जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौं।´
प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरू अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने प्रतिबद्धता गरे । उनले कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने बताए। 'हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्त्वपूर्ण कानुन ल्याएका छौं। भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ। यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा छ। घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ,' उनले भने।