काठमाडौं । देशमा शिक्षा ऐन जारीको माग राख्दै आठदिन यता आन्दोलनरत शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने बताएको छ ।
बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि आज महासंघको टोलीले सरकारसँग छलफल गर्दैछ । वार्ताको समय र स्थान भने तय भएको छैन ।
दुई पक्षबीच छलफलबाट समय तय गरिने बताइएको छ ।  महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
यो आन्दोलनबाटै ऐन जारी गरेपछि मात्रै शिक्षकहरु गन्तव्यमा फर्किने उनको भनाई छ । हामीले वार्ताको विरोध गरेका छैनौं । अब भाकाको सहमतिका लागि मात्र वार्तामा बस्दैनौं । ऐन जारी गर्ने सुनिश्चितता हुनुपर्छ ।
महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ ।कुनै प्रायोजित हल्ला र षडयन्त्रलाई विश्वास नगरी आन्दोलनको मोर्चामा यथावत् जुटिरहन सबै आन्दोलनकारी शिक्षक-कर्मचारी साथीलाई अध्यक्ष सुवेदीले आग्रह गरेका छन् ।