झापा । बर्षासंगै परेको चट्याङले लागेर झापामा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । चट्याङले लागेर झापा गौरादहमा एकजनाको ज्यान गएको हो । बुधबार बिहान अन्दाजी बिहान ७ बजे पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न.३ आरुबोटे स्थायी ठेगाना भई हाल गौरादह नगरपालिका वडा न. ५ बालुबथानका गोमनाथ चेम्जुङको अधिया खेती गरी उनकै घरमा बस्दै आएका अन्दाजी ५४ वर्षीय दुधकुमार लावतीको चट्याङले लागेर मृत्यु भएको हो ।

भान्सा कोठामा खाजा खाने क्रममा पानीसंगै छेउमा नै परेको चट्याङको झड्काले लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई कानुनी प्रकृया पुरा गरी पोस्टमार्टको लागि दमक अस्पताल दमक पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता आज दिउँसो अन्दाजी १.३० बजे भोजपुरको भोजपुर नगरपालिका २ सिमे बस्ने ५५ वर्षीय रुन्चे तामाङ चट्याङले लागेर घाइते भएका छन् । घर छेउमा पानीसहित परेको चट्याङको झड्काले तामाङको बायाँपट्टिको भागमा चोट लागेको छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर पठाएको प्रहरीले जनाएको छ ।