झापा । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो पाँच घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन नसकेको प्रहरी जनाएको छ ।
आगलागी भएको १० तले भवनमा फसेका ११ जनाको उद्धार गरिएको छ। प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र ३ महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत तीन जनाको उद्धार गरिएको हो। प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेबाट आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनभन्दा बढी दमकल, नेपाली सेना र प्रहरीको टोली परिचालित रहेको छ । इटहरी, दुहबी, रामधुनी, कोशी, बराहक्षेत्र, बिराटनगर, सुन्दरहरैचा, नेपाल प्रहरी, धरान र देबानगन्जका बरुणयन्त्रको सहायतामा आगो मद्दत गरेका थिए ।
आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक, सुपरमार्केट, कपडाका पसल, मोबाइल तथा इलेक्ट्रोनिक्सका ठूला पसलहरू सञ्चालनमा रहेका छन्। आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।





















































