प्रकाश उप्रेती
झापा । झापाको मेचीनगर-१४ का अभय (नाम परिवर्तन) गुरुकुलका विद्यार्थी हुन् । अभय एक्लो सन्तान भएकाले उनका आमाबुवा र हजुरबुवाले औधीँ माया र स्नेह गर्थे । उनी भारतको दार्जिलिङमा हजुरबुवाको सहारामा अंग्रेजी माध्यमबाट कक्षा ५ अध्ययन गर्दै थिए ।
हजुरबुवाको अकास्मात निधनपछि झापा बस्दै आएका बुवाआमाले उनलाई मेचीनगर-१४ मा ल्याएर इटहरीस्थित बृन्दावन गुरुकुलमा भर्ना गरिदिए । सुरुमा गुरुकुलको पाठ्यक्रमअनुसार नै पढ्न रुचाएका अभयले रुद्री-चण्डीको पुस्तक र वेदका हरफहरु राम्रैसँग वाचन गर्न सक्ने भएका थिए ।
गुरुकुलमा अध्ययरत अवस्थामै उनमा बिचलन आयो । उनले गुरु र आफ्ना साथीहरुसँग अस्वभाविक गतिविधि गर्न थालेपछी गुरुकुल प्रशासनले अभयका अभिभावकलाई बोलाएर जिम्मा लगाएका थिए । एक्लो सन्तान भएकाले तत्काल उनका बुवाले गुरुकुलबाट गल्तीको सजायस्वरुप छोरालाई घर फर्काए । अभय केही समय घरमै बसे । उनलाई पुनः पढ्ने रहर जागेको आमालाई सुनाएपछी झापाको बाह्रदशीस्थित गुरुकुलमा भर्ना गरिदिएका थिए ।
त्यहाँ पनि ३ महिना नपुग्दै अभयको बारेमा प्रशासनले `कम्प्लेन´ गर्न सुरु गरेका थिए । पछी सुधार्न नसकेकाले अभयलाई लैजान अभिभावकलाई अनुरोध गरेपछी अभिभावकले गुरुकुलबाट निकालेर घरमै पुर्याएका थिए ।
अभय उमेरले १४ वर्ष मात्रै पुगेका छन् । २ महिनापछि घरमै बसेका अभयलाई बुवाआमाले आफ्नो रेखदेखबाट पठनपाठन गराउने उद्देश्यले मेचीनगर-१३ स्थित सहिद दशरथ माबीमा कक्षा ५ मै भर्ना गरिदिएका थिए । घरदेखि विद्यालयको दुरि झन्डै १ किलोमिटर मात्रै छ । अभय कहिले साइकलमा र बुवाले साइकल लगेका दिन हिडेर नै विद्यालय पुग्ने गरेका थिए ।
एकदिन अभयकी आमाले पसलबाट जम्मा गरेको रकम कन्तुरोबाट एक हजार र पाँच सयको नोट हरायो । कन्तुरोभित्रको पैसा चै हरायो तर कन्तुरोको ताला भने लागेको हुँदा आश्चर्यचकित परिन् ।
उनीले धेरैबेर सोचिन् र आकडा लगाएरै छोरो अभयलाई सोधिन् । अभयले सुरुमा आफुले नगेको छैन नै भने, पछि आमाले तर्साउन बासको कन्चि टिपेपछी आफुले विद्यालयमा टिफिन खान लगेको स्वीकार गरेको उनकी आमाले बताइन् ।
छोरोको कुराले मन खिन्न बनाउँदै आभयकी आमा सहिद दशरथ माबि पुगेर प्रधानाध्यापक र शिक्षकलाई समेत सोधिन् । अभयले १५ सय ल्याएको बारेमा थाहा नभएको पाएपछी घर फर्किन् । घरमा पुगेर सम्झाइबुझाई गर्दा अभयले आफुले लागुऔषध किन्नका लागि कन्तुरोको ताला नङकटको सहायताले खोलेर पैसा लगेको खुलाएका थिए ।
अभयको कुरा सुनेर उनकी आमा निकै भाबुक बनिन् र सोधिन् पैसा चै कसलाई दिइस् ? लागुऔषध किन्नका लागि भाडाटुटाका दाईलाई दिएको अभयले बताएका थिए । त्यसपछि धुलाबारी प्रहरीको सहायतामा २ जना प्रहरीलाई जानकारी गराएपछि प्रहरीले साधा पोशाकमा मेचीनगर-१३ तेलिबारीस्थित पुलको दक्षिणमा रहेको कवाडी पसल नै पुगेका थिए । प्रहरीको टोली पुगेको थाहा पाएपछि एकाएक कवाडी पसलका संचालक नै फरार भएको प्रहरीले बताएको छ ।
कलिलो उमेरमै लागुऔषध दुर्ब्यशनीबाट छुटाउन विद्यालयको पठनपाठन नै छुटाएर अभयलाई उनका बुवाले साथमा दार्जिलिङ लिएर गएका छन् । उनी उतै बुवासँग मजदुरी पेशामा लागेका छन् भने बिरक्तिएकी अभयकी आमा पसल छोडेर हाल बिदेशिएकी छन् ।
यो एउटा तथ्यसहितको उदाहरणीय पात्र मात्रै हो । अभय र उनका अभिभावक जस्तै कयौं नेपालीका लागि लागुऔषधले दुर्दशा र भबिश्यले अन्धकारमय बनाउँदै आएको छ । अभयले पनि लागुऔषध दुर्ब्यशनीबाट छुट्न अध्ययन नै छुटाउनुपर्यो ।
लागुऔषधको ओसारपसार र प्रयोगकर्ताको बिगबिगी:
लागुऔषधको कारोबार रोक्न नेपाल सरकारले भारत सरकारसँग उपलब्धिमुलक पहल गर्न नसक्दा नेपाली बालबालिका र युवा दुर्ब्यशनीको सिकार बन्दै गएका छन् । दिनहुँ लागुऔषध प्रयोगकर्ता र ओसारपसारले समाज बिकराल बन्दै आएको छ भने त्यसको नियन्त्रणका लागि चुनौती पनि उतिकै थपिएको छ ।
भारतको पानिघट्टा, नक्सालबारी, पानीट्यान्की, खोरिबारी, गलगलिया र जोगमनी आसपासका क्षेत्रबाट तस्करीको माध्यमहुँदै लागुऔषध भित्रिँदा युवामा दुर्ब्यशनीको सिकार बढ्दै गएपछि समाज बिखण्डनतर्फ उन्मुख हुँदैआएको पाइन्छ ।
सरकारको उपल्लो तहले लागुऔषध नियन्त्रणका लागि उपलब्धिमुलक समन्वय गर्न नसक्दा युवा दुर्ब्यशनीको दलदलमा फस्दै आएका छन् भने अर्कोतर्फ लागुऔषध नियन्त्रणका नाउँमा स्थानीय र प्रदेश सरकारले बर्सेनि लाखौं रकम खर्च गर्दै आएको छ ।
नेपाल-भारत खुल्ला सीमा क्षेत्रका कारण जोडिएका झापाका प्रायः पालिकाका सार्वजनिक स्थलमा लागुऔषध प्रयोगकर्ताले कारोबारको ट्रान्जिट पोइन्ट बनाउँदै आएको पाइन्छ ।
अतिआवश्यक उपभोग्य सामग्री लिन भारत पुग्ने नेपालीलाई त्यहाँका ब्यापारी गिरोहले विभिन्न प्रलोभन देखाउँदै लागुऔषध बोक्न लगाएर सीमा कटाइदिने र पुनः बोक्न प्रेरित गर्ने गरेका छन् । मेहनत नै नगरी राम्रो आम्दानी हुने भएपछि ओसारपसारमा लाग्ने गरेको एक प्रयोगकर्ताले बताए । सीमा जोडिएका भारतीय बजारमा खाद्यान्न पसलमा लुकाईछिपाई नेपालीकै लागि लक्षित गरेर लागुऔषध बिक्री गर्ने गरेको त्यहाँको प्रहरीले लागुऔषध बोक्ने नेपालीलाई चेकजाँच नगर्नुले पनि पुष्टि हुन्छ ।
वडा र टोलभित्र रहेका सार्वजनिक स्थल वन-जङ्गल, पार्टी-पौवा, मठ-मन्दिर, गुम्बा, पोखरी-तलाउ, होटल, कवाडी पसललगायतका स्थललाई प्रयोग र कारोबार स्थल बनाउँदै आएको प्रहरीले अप्रेसनका क्रममा पाएको छ ।
झापाको पुर्वको काँकरभिट्टा, भद्रपुर नाका र त्यस आसपासमा चेकजाँचमा तैनाथ भन्सार कर्मचारी, नेपाल प्रहरी र शसस्त्र प्रहरीको आँखा छ्लेर नेपालमा लागुऔषध भित्रिने गरेको पाइएको छ ।
कतिपय लागुऔषधको कारोबार सामुदायिक र निजी विद्यालयको आसपासका कवाडी पसलमा हुने गरेको छ भने बनको आसपासमा रहेका होटल र रेष्टुरेन्ट, बसपार्क तथा पछिल्लो समयमा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएका सामुदायिक वनको सिमसार क्षेत्रमा पनि कारोबारको `ट्रान्जिट पोइन्ट´ बनाउँदै आएकाे प्रहरीको भनाई छ ।
सुरुमा सेवनकर्ता र पछी ओसारपसार गर्दै लागुऔषधको कारोबार गर्दै आएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइँदै आएको छ । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषध ओसारपसार विरुद्धको अभियान अन्तरगत प्रहरीले मुद्दा चलाउने गरेको छ । मुद्दापछि कसुर गरेको ठहर भए कारागार पठाउँने र ठहर नभए धरौटीमा छोडिदिने गरेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीले आन्तरिक रुपमा मेचीनगरका ५ वटा स्थानलाई लागुऔषध कारोबार गर्ने `लागुऔषध रेडजोन´ को रुपमा अप्रेसन गर्दै आएको जनाएको छ । उसले मेचीनगर-११ मा पर्ने पर्या-पर्यटन क्षेत्र कालिका सिमसार क्षेत्र, मेचीनगर-१२ को कालिझोडा क्षेत्र, मेचीनगर-१५ मा पर्ने खहरेडाँगी चिया बगान आसपास, मेचीनगर-९ को खुट्टेडाँगीस्थित सामुदायिक वन क्षेत्रलाई `रेडजोन´ को रुपमा निगारानी बढाएको इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर पाण्डवकुमार राजबंशीले जानकारी दिए ।
उनका अनुसार २ दिन अघि मेचीनगर-११ मा पर्ने कालिका सिमसार क्षेत्रमा कारोबार गर्दै गरेको अवस्थामा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको टोली घटनास्थल पुगेपछि १५ जना प्रयोग र बेचबिखनकर्ता फरार भएको थिए । उनिहरुले आफुले प्रयोग गरेको ५ वटा मोटरसाइकल, एउटा साइकलसहित जुत्ता-चप्पलसमेत छोडेर फरार भएको इन्स्पेक्टर राजबंशीको भनाई छ ।
प्रहरीले लागुऔषध कारोबार गरेको थाहा पाएपछी ज्यामिरगढीस्थित चिया बगानमा निगारानी बढाएको छ । प्रयोगकर्ता, कारोबारीले प्रहरी र सर्वसाधारणलाई छ्ल्न साङ्केतिक वा कोडभाषा प्रयोग गर्ने गरेको राजबंशीले बताए ।
झापाको चारआली र त्यस आसपासमा समेत प्रयोगकर्ता र कारोबारीको संख्या बढेको स्थानीयको भनाई छ । प्रयोगकर्ता बढेसँगै मेचीनगर-१३ ले लागुऔषध दुर्ब्यसनी विरुद्ध सचेतना कार्यक्रम गर्दै आएको र आगामी दिनमा मेची नगरपालिकाले तय गरेको लागुऔषध विरुद्धको अभियान सुरु गरिने मेचीनगर-१३ का अध्यक्ष कृष्णराज सिग्देलले बताए ।
लागुऔषध प्रयोगकर्तालाई पनि प्रहरीले मुद्दा चलाए मात्रै नियन्त्रणमा आउनसक्ने अध्यक्ष सिग्देलको भनाई छ ।
प्रहरीले प्रयोगकर्तालाई छोड्ने र ओसारपसार गर्नेलाई मुद्दा चलाउने गरेको छ, अध्यक्ष सिग्देलले भने, `लागुऔषध नियन्त्रण नै गर्ने हो भने प्रहरीले प्रयोगकर्तालाई पनि मुद्दा चलाउनुपर्छ ।´
अध्यक्ष सिग्देलका अनुसार मेचीनगर-१३ चारआली आसपासमा दुई सयबढी लागुऔषध ओसारपसार र प्रयोगकर्ता रहेका छन् । तिनीहरुले रातको समयमा गाउँटोलमा अस्वभाविक रुपमा सवारी चलाउँदै आगमन गर्ने गरेका छन् ।
प्रहरीमा पर्याप्त जनशक्ति नहुँदा परिवारभित्र नातावादमार्फत लागुऔषधको कारोबार हुने गरेको खुलेको छ । परिवारका सदस्यहरु नै मिलेर एकैचोटी `लागुऔषध´ खरिद गर्दै कारोबार गर्ने गरेको उदाहरण पाइन्छ । केहिसमयअघि मेचीनगर-१३ बाट एकै परिवारका आमा-छोरी नै पक्राउ परेपछि लागुऔषधको कारोबार नाताबाद शैलीबाट हुने गरेको पाइएको थियोे ।
मेचीनगरले एकजना महिला र एक जना पुरुषलाई लागुऔषध विरुद्धको तालिम दिइसकेको र केही समयपछि सबै वडामा सचेतता अभियान सञ्चालनको तयारी गरेको छ ।
लागुऔषध कारोबार तथा ओसारपसार बढेसँगै प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएपछि जिल्ला करागार झापामा कैदीको सङ्ख्या ह्वात्तै बढेको कारागार श्रोतले जनाएको छ ।
खुल्ला नाकाका कारण लागुऔषध नियन्त्रणमा चुनौती बनेको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता खगेन्द्रबहादुर खड्का बताए । सीमा क्षेत्रमा लागुऔषध ब्युरोसहित जिल्लाभर २५ वटा प्रहरी युनिटबाट नियन्त्रणमा कडाइ गरेको उनले बताए । प्रहरीको लागुऔषध ब्युरो र नेपाल प्रहरीले जनशक्ति अनुसार कडाइ गर्दै आएको प्रबक्ता खड्काको भनाई छ ।





















































