चारआली । झापाको मेचीनगर-१२, सहरेडाँगीमा रहेको श्री माधव संस्कृत बिद्याश्रम एबम् माधवेश्वर शिव पान्चायतन मन्दिरले आयोजना गरेको महायज्ञको आय-ब्याय सार्वजनिक गरेको छ ।
आर्थिक अभावमा अलपत्र भौतिक पुर्वाधर सम्पन्नसहित गुरुकुल सञ्चालन सहयोगार्थ गत फागुन ७ गतेदेखि आयोजना गरेको श्रीमद् भागवत सप्ताह एबं धनधान्याचल बिराट ज्ञानमहायज्ञमा दाताबाट दानभेटी आम्दानी र खर्च सार्वजनिक गरेको हो ।
महायज्ञ अवधिभर नगद, बैंकिङ र जिन्सी दानभेटी सहयोग स्वरुप ३० लाख ४५ हजार ४ सय ५८ रुपैयाँ संकलन गरेको शनिबार पत्रकारसमक्ष जानकारी दिइएको छ । संकलित दानभेटी रकममध्ये ९ लाख ८ सय ४५ रुपैयाँ खर्च भई बचत २१ लाख ४४ हजार ६ सय १३ रुपैयाँ बचत गर्न सफल भएको पुराण आयोजक समितिका कोषाध्यक्ष एबम् आर्थिक समिति संयोजक टेकप्रसाद भारतीले जानकारी दिए ।
उक्त दानभेटीबाट बचत भएको रकममध्ये ११ लाख रुपैयाँ अक्षयकोषमा जम्मा भएको र १० लाख ४४ हजार ६ सय १३ रुपैयाँ रकमले अलपत्र भएको भौतिक संरचनाको निर्माण थालनी गरिने पुराण आयोजक समितिका संयोजक तिलकप्रसाद गिरीले जानकारी दिए ।
पुराणको आय-ब्याय सार्वजनिक कार्यक्रम प्रमुख कथाबाचक पण्डित हरिकृष्ण भण्डारीले अपेक्षाअनुसार दाताबाट दानभेटी प्राप्त भएकाले सबै दाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
पण्डित भण्डारीले आफूले अध्ययन गरेको संस्कृत विद्यालय माधव संस्कृत बिद्याश्रम एबम् माधवेश्वर शिव पान्चायतन मन्दिरमा पहिलो पटक कथा बाचन गरेर कथावाचन सुरु गरेका थिए । हजुरबुवा र बुवाको परिकल्पनामा स्थापनापछि सञ्चालनमा रहेको माधव संस्कृत बिद्याश्रमको चौतर्फी विकास गर्ने उद्देश्यले पुराणको आयोजना गरिएको थियो ।
गुरुकुलको  ब्यवस्थापन गर्न, अध्ययनरत विद्यार्थीलाई निःशुल्क संस्कृत पठनपाठन, आवासको ब्यवस्थापन गर्न, निर्माणाधिन भवनलाई पूरा गरी गुरुकुलको स्तरोन्नतिका लागि महायज्ञको आयोजना गरिएको थियो ।