झापा । संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको बिषयलाई लिएर नेपाल पत्रकार महासंघले पत्रकारको पास निलम्बन फिर्ता लिई सचिवालयलाई ध्यानाकर्षण गराएको छ ।
प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेको भन्दै महासंघले ध्यानाकर्षण गराएको महासचिव रामप्रसाद दाहालद्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ । महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गरेको छ । पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए-नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो।
२०८१ फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको जनाएको थियोे ।
महासंघले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न समेत पत्रकार तथा सञ्चारमाध्यमलाई बिज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ ।





















































