धुलाबारी । शेर्पा संघ मेचीनगर वडा नं ९ समितिले ग्याल्पो ल्होसार पर्व धुमधामका साथ मनाएको छ । नयाँ पुस्ताका शेर्पा समुदायलाई पर्वको महत्व बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको हो ।

मेचीनगर–९ धुलाबारीस्थित लीलाबस्तीमा रहेको पेम्बा होइसेलिङ गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुहरुले मन्त्र उच्चारण गरेका थिए । वडा समिति अध्यक्ष रतन शेर्पाको अध्यक्षता तथा सोही गुम्बाका अध्यक्ष चन्द्रथिङ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव याङ्जी शेपा तथा स्वागत कोषाध्यक्ष निम्तेन्जी शेर्पाले गरेका थिए । मेचीनगर–९ मा शेर्पा जातिको १३ घरपरिवार रहेको छ ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५२ औं ग्याल्बो ल्होसार मनाउन मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।