झापा । सरकारले मुक्कुम्लुङ संरक्षणले गरेको माग पूरा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको छ ।
मुक्कुम्लुङ ताङ्से:प चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तर्दलीय समितिले ६ बुँदे माग अघि सार्दै पूरा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको हो ।
ताप्लेजुङको पाथीभरामा बन्ने भनिएको केबलकारको सन्दर्भलाई लिएर शनिबार (आज) एक विज्ञप्ति जारी गर्दै चुम्भो र समितिले ६ बुँदे माग अघि सारेका छन् ।
घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने, घटनाको उच्चस्तरीय न्यायिक छानबिन समिति निर्माण गर्नुपर्ने र दोषीहरूलाई कडा कारबाही गरिनुपर्ने लगायतका माग राखिएको बिज्ञप्तिमा उल्लेख छ ।चुम्भो र समितिले मागहरू पूरा नभए आमहड्ताल गर्ने चेतावनीसमेत दिएका छन्। 'माग सम्बोधन नभए अनिश्चितकालीन आमहड्ताललगायत देशैभरि आन्दोलन चर्काएर लगिनेछ,' विज्ञप्तिमा भनिएको छ।
अगाडि भनिएको छ, 'ताप्लेजुङ फुङलिङ नगरपालिका-११ बलुडाँडास्थित २०८१ माघ १२ गते बेलुकी मुक्कुमलुङ संस्कृतिकर्मीहरूमाथि सशस्त्र र जनपथ प्रहरीले गरेको बर्बर दमन र गोलीकाण्डका कारण मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका २०८१ माघ १५ देखि अनिश्चितकालीन यातायात बन्द रहेकोमा आन्दोलन थप सशक्त बनाउन मिति २०६१ माघ २० र २१ गते अरुणपूर्वका नौ जिल्ला लिम्बूवान् बन्द आह्वान गरिएको छ।'
गत १२ गते मुक्कुम्लुङ संरक्षणकर्ताहरू यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वामाथि गोली प्रहार भएको थियो। उनीहरूको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।