बिर्तामोड । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा दिनुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा मंगलबारदेखि सुरु गरेको `अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१´को उद्घाटनपछि सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।
सरकारको नीति र योजना पनि औद्योगिक र पर्यटन क्षेत्रको प्रर्वद्धनकै लागि लक्षित रहेको बताउँदै मन्त्री कार्कीले अन्तरदेशीय राजमार्ग (एसियन हाइवे) को निर्माणपछि सिङ्गो नेपालमा पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता औल्याएका थिए ।

प्रदेश सरकारले २०८० साललाई पर्यटन वर्ष घोषणा गरिसकेको, स्थानीय उत्पादन र स्वरोजगार मुलक उद्यमको प्रर्वद्धनमा पर्यटन वर्षले थप टेवा दिने उनले विश्वास दिलाएका थिए । उनले कोशी प्रदेशमा तीन वटा पदमार्गका लागि बजेट विनियोजन गरिसकेको पनि जानकारी गराएका थिए । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रर्वद्धन तथा होटल व्यवसाय सहयोगी बन्न सक्ने भन्दै अन्यत्रभन्दा झापा जिल्ला प्रचुर सम्भावनाको क्षेत्र रहेको मुख्यमन्त्री कार्कीको दावी छ । कार्यक्रममा बोल्दै खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्धत पुग्ने आशा व्यक्त गरेका थिए ।
संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर एण्ड कमर्सका उपाध्यक्ष चण्डिराज ढकाल, बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाई,नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे , दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० वटा व्यवसायीक स्टल रहेका जनाएको छ । खेल सामग्री, फुडकोड,सेल्फीजोन समेत रहेको महोत्सव अवधिभर नेपालका प्रशिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिएका थिए ।
संघको कार्यालयबाट उद्योगी व्यवसायीहरु तथा सुभेक्षुकहरुको समूह विभिन्न झाँकीसहित नगरपरिक्रमा गर्दै महोत्सवस्थल पुगेको थियो ।

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यपार महोत्सवलाई एपोलो पेन्ट्सले मुख्य प्रायोजन गरेको महोत्सवको उद्घाटन कार्यक्रमको अध्यक्षता बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले स्वागत विशाल थापाले र केशव भट्टराईले सञ्चालन गरेका थिए ।