काठमाडौं । आज नेपाल र बंगलादेशबीच फाइनल फुटबल प्रतियोगिता हुँदैछ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न टिकट काट्नेको बिहानैदेखि लामो लागेको छ । बिहानैदेखि टिकट लिन लाइनमा बसेका खेलप्रेमीले टिकट नपाएपछि रुष्ट बनेका थिए ।  लामो समयसम्म लाईन बसेपछि टिकट सकियो भन्ने खबर पाएका उनीहरुले चर्को नाराबाजी समेत गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ५ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो ।
एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइलनमा पुगेको हो भने बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।
यसअघि ५ पटक फाइनलमा पुगे पनि उपाधिबाट बन्चित रहेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो उपाधिको खोजिमा छ ।