झापा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अहिलेसम्म ६६ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको छ ।
कोसी प्रदेशको झापा जिल्लामा अध्यक्ष प्रेम गिरी, उपाध्यक्षमा शिवा ढुङ्गेल, सचीवमा तुलसी कार्की तथा सहसचिवद्वयमा असारु राजबंशी र अनिता कन्दङ्वालाई चयन गरिएको छ ।
पाँचथरमा अध्यक्षमा बिष्णुकुमार सापकोटा, उपाध्यक्षमा वीरबहादुर कुरुम्वा, सचीवमा पृथ्वी लावती, सहसचिवमा तुल्सी थापा र कोशिला आम्दाङ्वे रहेका छन् ।
ताप्लेजुङमा डम्बरध्वज तुम्वाहाम्फे, उपाध्यक्षमा दिपेन पोमु, सचिवमा सन्तोष चाम्लिङ, सहसचीवमा गोपाल न्यौपाने, भीमादेबि ओझालाई चयन गरिएको छ ।
अधिवेशनमार्फत एमालेले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी ५ पदाधिकारी छनोट गरेको हो । जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन जारी गरेको एमालेले बाँकी जिल्लाको अधिवेशन पनि चाँडै गर्ने जनाएको छ ।
सम्पन्न जिल्ला अधिवेशनबाट कोशी प्रदेशका १४ मध्ये ११ जिल्लामा नयाँ नेतृत्वसहितको जिल्ला कमिटी चयन गरेको छ ।
त्यसैगरी मधेस प्रदेशमा आठमध्ये पाँच जिल्लाको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुँदा बागमतीका १३ वटै जिल्लाको अधिवेशन गरेर नयाँ नेतृत्व छानेको छ । बागमतीका १३ मध्ये ६ जिल्लाका अध्यक्ष दोहोरिँदा उपत्यकाका तीन वटै जिल्लाका अध्यक्ष दोहोरिएका छन् ।
गण्डकीका ११ मध्ये १० जिल्लाको अधिवेशन सकिएको छ । गण्डकीका दुई जिल्लाका अध्यक्ष दोहोरिएका छन् भने पाँच जिल्लाको नेतृत्व सर्वसम्मत चयन भएको एमालेले जनाएको छ । कर्णालीका १० मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गर्दा सुदूरपश्चिमका ९ मध्ये ६ जिल्लाकोमात्र अधिवेशन सम्पन्न भएको छ ।
सोलुखुम्बुमा डुफकुमार बाँस्तोला जिल्ला अध्यक्षमा दोहोरिएका छन् भने काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा पुरानै अध्यक्ष दोहोरिएका छन् । ललितपुरबाट पुरुषोत्तम आचार्य, भक्तपुरबाट बचन देउजा र काठमाडौँबाट दीपक निरौला अध्यक्ष बनेका छन् ।
धादिङबाट अध्यक्ष बनेका भूमि त्रिपाठी, नुवाकोटबाट अध्यक्ष बनेका बद्री मैनाली र दोलखाबाट अध्यक्ष बनेका नरबहादुर श्रेष्ठ पनि दोहोरिएका छन् ।
त्यस्तै बागलुङबाट हिरा केसी र स्याङ्जाबाट सूर्यप्रसाद गैरे अध्यक्षमा दोहोरिएका छन् ।
अर्घाखाँचीमा पीताम्बर भुसाल, प्युठान विजयराज विष्ट, गुल्मी वालसिंह काउछा र नवलपरासीमा दिपेन्द्र अधिकारी अध्यक्षमा दोहोरिएका छन् । कर्णालीको जुम्ला र रुकुमको अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन भएका हुन् भने रुकुम (पश्चिम) को अध्यक्षमा नन्दराम देवकोटा चयन भएका हुन् ।
इलाम, मोरङ, तेह्रथुम मधेसको सिराहा, सप्तरी, धनुषाको गण्डकी–मनाङ, कर्णालीको डोल्पा, सुदूरपश्चिमको अछाम, बझाङ र डोटीमा अधिवेशन भएको छैन ।




















































