झापा । नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरण र नेतृत्व चयनको प्रक्रिया अन्तर्गत झापा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका लागि चुनावी सरगर्मी बढेको छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई चलायमान बनाउन निर्वाचनमा होमिएको हो । स्पष्ट वैचारिक र राजनीतिक छवि भएका दुई सशक्त र उर्जाशील नेताहरूबीच सहमति नहुँदा हाल नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ मा चुनावी मैदानमा उत्रेका छन् । असोज ११ गते सम्पन्न निर्वाचनका लागि दुवैतर्फ आआफ्नो चट्टानी अडानमा छन् ।कतिपय कांग्रेसका अग्रज तथा नयाँ पुस्ताले एक पटक एउटा पदको नेतृत्व सम्हालीसकेपछि सोही पदका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
सुवेश पनेरु र वर्तमान क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी चुनावी मैदानमा उत्रिएका हुन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको गृहक्षेत्र समेत रहेको यस निर्वाचन क्षेत्रको चुनावी भिडन्तलाई जिल्लाभर निकै चासोका साथ हेरिएको छ । यस पटकको प्रतिस्पर्धालाई कांग्रेस वृत्तमा अनुभव र निरन्तरता विरुद्ध युवा जोस र रूपान्तरणको रूपमा विश्लेषण गर्न थालिएको छ । चुनावी मैदानमा आमनेसामने भएका दुवै उम्मेद्वारहरूको राजनीतिक पृष्ठभूमि, सांगठनिक पकड र कार्यशैली तुलनात्मक रूपमा निकै भिन्न र रोचक देखिन्छ ।
इन्द्र र सुवेशको राजनीतिक यात्रा:
वर्तमान क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी पार्टीको तल्लो तहदेखि नै सांगठनिक सिँढी उक्लिँदै आएका एक परिपक्व र पुराना नेता हुन् । उनी लामो समयदेखि धुलाबारी र मेचीनगर केन्द्रित राजनीतिमा सक्रिय छन् । गत १४ औं महाधिवेशनमा निर्वाचित भएर क्षेत्रको कमान्ड सम्हाल्दै आएका थिए ।
अर्कोतर्फ, सुवेश पनेरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र कांग्रेसका प्रमुख भ्रातृ संगठनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै स्थापित भएका जुझारु युवा नेता हुन् । पनेरुको बढ्दो राजनीतिक कदकै कारण हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रीय समितिले केन्द्रमा सिफारिस गरेका शीर्ष पाँच नेताहरूको सूचीमा उनको नाम समावेश थियो।
जनाधार र चुनावी अनुभव बुढाथोकी पार्टीका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा समेत उम्मेद्वार बनिसकेका कारण ग्रामीण र स्थानीय तहका आम मतदाता माझ निकै परिचित छन् । उनलाई कार्यकर्ताहरू एक सरल, भुइँमान्छे र किसानको छोराका रूपमा सम्मान गर्छन्।
तुलनात्मक रूपमा, पनेरु कांग्रेस वृत्तमा एक अध्ययनशील, तार्किक र कुशल रणनीतिकारका रूपमा चिनिन्छन्। नयाँ पुस्ताका मतदाता, वैचारिक समूह र आधुनिक कार्यशैली रुचाउने युवा कार्यकर्ताहरू माझ पनेरुको राम्रो पकड रहेको उनका पक्षधर कार्यकर्ताहरुको भनाई छ।
बुढाथोकीले आफ्नो अघिल्लो कार्यकालका बाँकी कामहरू पूरा गर्न, पार्टीका विविध गुट र विचारलाई सन्तुलनमा राख्न र पुराना कार्यकर्ताहरूको सम्मान गर्दै संगठनलाई पुरानै अनुभवको जगमा अघि बढाउने आफूले सोही पदका लागि उम्मेद्वारी दिएको बताए ।
उनको मुख्य जोड नेतृत्वको निरन्तरता र सन्तुलनमा छ भने त्यसको विपरीत, पनेरुले बदलिँदो राजनीतिक परिवेशमा परम्परागत शैलीभन्दा फरक ढंगले आधुनिक र संस्थागत रूपमा पार्टी चलाउनुपर्छ भन्ने मान्यता राख्दै आएका छन्।
आगामी निर्वाचनहरूमा कांग्रेसलाई यस क्षेत्रमा पहिलो शक्ति बनाउन नेतृत्वमा रूपान्तरण र नीतिगत प्रस्टता अनिवार्य रहेको पनेरुको तर्क छ । क्षेत्र नम्बर १ का स्थानीय तह, वडा र गाउँबाट चुनिएर आएका क्षेत्रीय प्रतिनिधिहरू यस निर्वाचनका मुख्य निर्णायक पनि हुन् ।
दुवै नेताको स्वच्छ र निष्ठावान् राजनीतिक छविका कारण संगठनलाई पुरानै अनुभवको निरन्तरता दिने कि नयाँ युवा दृष्टिकोणलाई नेतृत्व सुम्पिने भन्नेमा प्रतिनिधिहरू विभाजित देखिन्छन्। दुवै उम्मेद्वारहरू हाल प्रतिनिधिहरूको घरदैलो र आन्तरिक भेलाहरूमा व्यस्त छन् र झापा क्षेत्र नम्बर १ को यो प्रतिस्पर्धा स्वच्छ तर निकै कडा र रोचक हुने निश्चित छ ।





