झापा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत झापाको चारवटा पालिकामा नेतृत्व चयन भएको छ ।झापाको मेचीनगर, बाह्रदशी, बुद्धशान्ति र कचनकवलमा नेतृत्वका लागि निर्वाचन गरिएको हो । दुई वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने दुई वटामा निर्वाचन भएको थियो । नेपाली कांग्रेस मेचीनगरको सभापतिमा योगेन थापा मगर निर्वाचित भएका छन् । १५ औं महाधिवेशनअन्तर्गत बुधबारको नगर अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाएको थियो । योगेन थापा मगरले निर्वाचनमा ३७८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी भक्तबहादुर तामाङले १६४ मत मात्र ल्याएर सभापतिमा पाराजित भए । धुलाबारीको टाउन हलमा सम्पन्न मतगणना अनुसार उपसभापतिमा कञ्चन बराल निर्वाचित भएका छन् । इटाभट्टा निवासी युवा नेता बराल २७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मुकेश लिम्बूले २६५ मत ल्याएका छन् । नगर नेतृत्वका लागि ५७३ जनाले मतदान गरेका थिए । त्यस्तै बाह्रदशी गाउँ कार्यसमितिको नेतृत्व सर्वसम्मतबाट चयन भएको छ। अधिवेशनबाट इन्द्रबहादुर बस्नेत सभापतिमा निर्वाचित भएका छन् । गाउँपालिकाको नेतृत्वमा बस्नेतसँगै दुई उपसभापति, सचिव, सहसचिव तथा सदस्यहरू निर्वाचित भएका छन्। नयाँ कार्यसमितिले पार्टीको संगठनलाई थप व्यवस्थित गर्दै स्थानीय तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बाह्रदशी गाउँ कार्यसमितिको उपसभापतिमा पञ्चानन राजवंशी र चम्पादेवी तिवारी चयन भएका छन्। सचिवमा लक्ष्मीप्रसाद उप्रेती तथा सहसचिवमा नारायण गोस्वामी निर्वाचित भएका छन्। कार्यसमिति सदस्यमा रजत मन राजवंशी, हर्क कार्की, रञ्जना बास्कोटा, धर्मराज थापा, पिङ्की साह, सदिक्षा खड्का, तीर्थ काफ्ले, लीलाप्रसाद चापागाईं र साबित्रा विक निर्वाचित भएका छन्।
२०७८ सालको अधिवेशनमा बस्नेतले सभापतिका अर्का प्रत्यासी टंकप्रसाद शाहलाई पराजित गर्दै उनले नेतृत्व सम्हालेका थिए। त्यसबेला बस्नेतले १०१ मत प्राप्त गर्दा शाहले ५८ मत प्राप्त गरेका थिए। त्यस्तै त्रिपक्षीय भिडन्त भएको बुद्धशान्तिको सभापतिमा मदनकुमार प्रसाई निर्वाचित भएका छन् । उनले ८८ मत ल्याउँदै सभापतिमा बाजी मारेका हुन् । उनका प्रतिष्पर्धीहरु कृष्ण खतिवडाले ६३ र मोहन मावोले २५ मत ल्याएको जनाइएको छ । त्यस्तै उपसभापतिमा डम्बर लावतीलाई हराउँदै मदन मगर निर्वाचित भएका छन् ।





