चारआली । एसियन हाइवे निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सन कम्पनीको चरम लापरबाहीका कारण झापाको चारआली चोकमा सवारी दुर्घटनाको जोखिम बढेको छ । सडकमा पानी जम्ने र हिँड्ने बाटो चिप्लो हुँदा दैनिकजसो दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा पर्ने तथा पैदलयात्रु लड्ने अवस्था देखिएको छ । सवारीसाधन र यात्रुको अत्याधिक आवागमन हुने चारआली चोकमा सडक निर्माणका क्रममा पानी निकासको उचित व्यवस्थापन नहुँदा मुख्य सडकमा पानी जम्ने गरेको स्थानीयको गुनासो छ । जमेको पानीका कारण मोटरसाइकल तथा स्कुटर चलाउन समस्या हुनुका साथै पैदलयात्रुलाई समेत आवतजावतमा जोखिम बढेको छ। समस्या समाधानका लागि सञ्चारकर्मी प्रकाश उप्रेतीको पहलमा मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, प्रहरी चौकी चारआलीका प्रमुख किरण राई तथा ट्राफिक प्रहरी प्रमुखले निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरी तत्काल समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् । छलफलका क्रममा निर्माण कम्पनीका इन्जिनियर प्रमुख नकुल थापालाई चारआली चोकमा सडकमा पानी जम्ने, सवारीसाधन दुर्घटनामा पर्ने र पैदलयात्रुलाई समस्या हुने अवस्थाबारे जानकारी गराइएको थियो । साथै, निर्माणाधीन हाइब्रिज तथा सवारी पासिङ निर्माणमा भइरहेको ढिलासुस्ती नगर्नसमेत निर्माण कम्पनीलाई आग्रह गरिएको छ । समस्याबारे जानकारी पाएपछि निर्माण कम्पनीले तत्काल पानी जमेको स्थानमा खाल्डाखुल्डी पुर्ने काम थालेको छ । तर, सडकमा पानी जम्ने मूल समस्या तथा हाइब्रिज र सवारी पासिङको निर्माण कार्य पूर्णरूपमा समाधान भइनसकेको स्थानीयको भनाइ छ ।चारआली चोक पूर्व–पश्चिम राजमार्ग तथा मेची क्षेत्रका विभिन्न स्थान जोड्ने प्रमुख आवागमन केन्द्र भएकाले निर्माणका क्रममा यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ ।
चारआली चोकबाट पूर्वी पहाडी जिल्ला, भारतीय सिमा क्षेत्र, दक्षिणमा केचना कवल र पश्चिमका विभिन्न जिल्ला यात्रा गर्न सहज हुने भएकाले बाक्लो रुपमा यात्रुको आवगमन हुने गरेको छ । उक्त चोकमा पार्किङको उचित ब्यवस्थापन नहुँदा ट्राफिक नियम उल्लंघन हुने र दुर्घटनाको जोखिम बढेकोले तत्काल सुधार गरेर अघि बड्न सम्बन्धित निकायलाई आग्रह गरिएको वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।





