झापा । झापाको बिर्तामोडमा दिउँसो भएको आगलागीमा दुई वटा फर्निचर उद्योग जलेर नष्ट भएको छ । झापाको बिर्तामोड ४ अन्नपूर्ण चौकमा बुधबार बिहान १०ः४५ बजेतिर स्थानीय हर्ष सुब्बाले सञ्चालन गरेको देवी उडन फर्निचर उद्योगबाट आगलागी सुरु भएको थियो । प्रारम्भिक अनुसन्धानबाट विद्युत सर्ट भई आगलागी भएको खुलेको प्रहरीले जनाएको छ । आगलागीबाट दुईवटा फर्निचर उद्योग र त्यहाँको शोरुम पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसैगरी अर्को सोही घरसँग जोडिएको अर्को कृष्णकुमारी राईको घर भाडामा लिएर दिव्यश्री अग्रवालले सञ्चालन गर्दै आएको जय ट्रेड फर्निचरसमेत जलेर ध्वस्त भएको छ । यसैगरी सोही फर्निचरमा जोडिएका अन्य दुईवटा घरमासमेत आगोको रापले सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । आगलागीका क्रममा सामान निकाल्दा अर्जुनधारा नगरपालिका–३ का ३९ वर्षीय तिलबहादुर रम्तेल घरमाथिबाट खसेर घाइते भएका थिए । आगलागी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, स्थानीयवासीसहित बिर्तामोड, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, मेचीनगर नगरपालिकाबाट दमकल खटिएको थियो भने दिउँसो १ बजे आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब पाँच करोड रुपैयाँभन्दा बढी क्षति भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । आगलागीपछी क्षतिकाे बिवरण सकलका क्रममा रहेको जानाएको छ । उक्त आगलागीलाई नियन्त्रणमा लिन नेपाली सेनाको श्री अरिदमन गण, चारआली व्यारेकबाट फायर फाइटिङ फौज सहभागी भएको थियो ।





