झापा । झापाको भद्रपुरमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता आयोजना हुने भएको छ। भद्रपुर नगर हक्की संघको आयोजनामा भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा आगामी कात्तिक १३ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।

भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोजकुमार बस्नेतका अनुसार प्रतियोगितामा नेपालका आठ, भारतका तीन र बंगलादेशको एक गरी १२ टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्रथम पुरस्कार ओम साई पाथीभरा हस्पिटल भद्रपुरका अध्यक्ष दीपक पोखरेल र दोस्रो पुरस्कार समाजसेवी राजकुमार राईले प्रायोजन गरेका छन्।

स्थानीयस्तरमा लामो समयदेखि सञ्चालन हुँदै आएको हक्की खेललाई व्यवस्थित, व्यावसायिक र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान, खेल पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएको छ भने स्थानीय तह, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था तथा खेलप्रेमीबाट सहयोग जुटाउने काम भइरहेको संघका सल्लाहकार अनिल ढुङ्गानाले जानकारी दिए।

प्रतियोगिताका लागि विद्यालयको खेलमैदान स्तरोन्नति गरी बहुउपयोगी बनाउने कामसमेत भइरहेको छ। मैदान निर्माण तथा व्यवस्थापनमा करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगिताको सचिवालय आइतबार विद्यालय परिसरमा स्थापना गरिएको छ। सचिवालयको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका हुन्। उनले भद्रपुरलाई खेलकुदको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न प्रतियोगिताले योगदान पुर्‍याउने बताए।

नेपाल हक्की संघकी महासचिव सुर्वर्णा श्रेष्ठले नेपालमा यसअघि अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता आयोजना नभएको बताउँदै यसले नेपाली हक्कीको विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।