गोरखा । बुढिगण्डकीमा आएको बाढीमा अलपत्र परेका नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट खटिएको टोली परिचालन गरी उनीहरूको उद्धार गरेको जनाएको छ ।
चार वटा हेलिकोप्टरसहित परिचालन गरिएको टोलीले जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट ९ जना र पायुबाट १२ जनाको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये एक शिशु र एक विदेशी नागरिक पनि रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । आज बूढीगण्डकीमा लेदोसहित बाढी आएको हो ।
गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेस्थित बुढीगण्डकी नदीमा पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो ।
महाशाखाका अनुसार बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबारे बिहान ६ बजे प्रारम्भिक जानकारी प्राप्त भएको थियो ।
घटनास्थलको पछिल्लो २४ घण्टाको वर्षा विवरणमा छिटपुट मात्र वर्षा देखिएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना नरहेको प्रारम्भिक विश्लेषण छ ।
प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्बिरको अवलोकनका आधारमा पहिरोले नदी थुनिएर पछि फुट्दा एक्कासि बाढी आएको हुनसक्ने अनुमान गरिएको हो । घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा बिहान ६ः३० बजे जलसतह २.२८ मिटरबाट बढेर ३.६६ मिटर पुगेको थियो । उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर रहेको छ । बाढीसम्बन्धी सूचना प्राप्त हुनासाथ तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो ।
बिहान ७ः५० बजे जलसतह बढेर ५.०१ मिटर पुगेको थियो, जुन पाँच मिटरको खतरा तहभन्दा माथि हो । त्यसपछि केही घटेको जलसतह पुनः तीव्र गतिमा बढ्दै बिहान ८ः३० बजे ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको महाशाखाले जनाएको छ ।





