काठमाडौं । वैदेशिक रोजगार विभागले  शाखा कार्यालयलाई जिम्मेवार नबनाउने मेनपावरको अनुमति रद्द गर्ने चेतावनी दिएको छ । विभागले एक सूचना जारी गर्दै शाखा कार्यालयबाट भएका काम कारबाहीको जिम्मेवारी मुख्य कार्यालयले पूर्ण रूपमा लिनुपर्ने बताएको हो ।विभागबाट अनुमति लिएका म्यानपावर कम्पनीका केही शाखा कार्यालयमा वैदेशिक रोजगारीमा जानका लागि आवेदन दिएका व्यक्तिले आफ्नो आवेदनको अवस्था, आवश्यक कागजात, रोजगारदाता, रोजगारीको अवस्था, भिसा, रोजगार सम्झौता, श्रम स्वीकृति, प्रस्थानको तयारी तथा अन्य सम्बन्धित विषयमा जानकारी माग्दा स्पष्ट तथा यथार्थ सूचना उपलब्ध नगराएको विभागको भनाइ छ । शाखा कार्यालयहरूले सेवाग्राहीलाई ‘हामीलाई थाहा छैन’, ‘काठमाडौंमा मुख्य कार्यालयमा सम्पर्क गर्नुहोस्’ लगायतका जवाफ दिने गरेको विभागले बताएको छ । शाखा कार्यालयहरूको उक्त व्यवहारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आफ्नो आवेदन तथा वैदेशिक रोजगार सम्बन्धी प्रक्रियाको जानकारी लिन पटक–पटक मुख्य कार्यालय काठमाडौंमा धाउनुपर्ने अवस्था सिर्जना भएको भन्ने गुनासो बढेको विभागले बताएको छ ।त्यसैगरी, विभागले शाखा कार्यालयहरूले आफ्नो कार्यालय मार्फत वैदेशिक रोजगारीमा पठाउनका लागि प्रक्रिया सुरु गरेका व्यक्तिहरूलाई लामो समयसम्म पनि वैदेशिक रोजगारीमा नपठाएको विषयमा सम्बन्धित इजाजतप्राप्त संस्थाको मुख्य कार्यालयमा गुनासो गर्दा केही म्यानपावर कम्पनीले शाखा कार्यालय तथा शाखाका कर्मचारीहरूबाट भएका काम कारबाहीको जिम्मेवारी नलिने भनी गैर जिम्मेवारीपूर्ण जवाफ दिएको भनी गुनासो प्राप्त भएको बताएको छ । जिम्मेवारी नलिने अवस्था कायम रहेमा वैदेशिक रोजगारका लागि आवेदन दिने श्रमिक तथा सेवाग्राहीको इजाजतपत्र प्राप्त संस्थाप्रतिको विश्वास घट्ने तथा वैदेशिक रोजगार प्रक्रियाको पारदर्शिता र जवाफदेहितामा प्रतिकूल असर पर्ने भन्दै विभागले सेवाग्राहीलाई आवश्यक सूचना नदिने, गलत वा अपूर्ण सूचना दिने, आवेदनको अवस्थाबारे जानकारी नदिने, अनावश्यक रूपमा दुःख वा हैरानी दिने कार्य नगर्न भनेको छ ।सेवाग्राहीलाई सहजीकरण नभएमा शाखा कार्यालयको अनुमति रद्द गर्ने तथा वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ । शाखा कार्यालयमाथि विभाग र स्थानीय जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्न सक्ने भए पनि अनुगमन नहुँदा कतिपय म्यानपावर कम्पनीका शाखा केवल ठगी गर्ने माध्यम बनेको गुनासो बढेको छ ।