काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आजदेखि नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूले सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरूको बिक्री औपचारिक रूपमा बन्द गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणबाट साना र सस्ता प्याकेज स्वीकृत गराएका भए पनि आईएसपीहरूले बजारमा भने महँगा र लामो अवधिका प्याकेज मात्र उपलब्ध गराउन थालेका हुन् । आइस्पानका अनुसार बजारमा चुलिएको मूल्यवृद्धि, मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्यमा भएको वृद्धि, फाइबरको मूल्य आकासिनु र बढ्दो सञ्चालन खर्चका कारण साना प्याकेजहरूलाई निरन्तरता दिन कठिन भएको हो । यसबाहेक पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र वृद्धिका कारण इलेक्ट्रोनिक सामान तथा चिपसेटको मूल्य एक्कासि महँगिएकाले न्यून महसुलका प्याकेज हटाउनुपर्ने परिस्थिति बनेको संघको भनाइ छ ।
यस निर्णयपछि नेपालका ठुला आईएसपीहरू वर्ल्डलिंक, भायानेट र सुबिसुले सस्ता प्याकेजहरू हटाएका छन् । प्राधिकरणबाट स्वीकृत ट्यारिफ अनुसार वर्ल्डलिंकको सबैभन्दा सस्तो स्वीकृत प्याकेज २०० एमबीपीएसको लागि कर बाहेक मासिक १,१९० रुपैयाँ रहेको छ । तर, कम्पनीले यो सस्तो प्याकेज १ महिना, ३ महिना वा ६ महिनाको अवधिका लागि बजारमा बिक्री गर्न छाडेको छ । अब कुनै पनि ग्राहकले वर्ल्डलिंकको इन्टरनेट सेवा लिन वा जोड्न चाहेमा अनिवार्य रूपमा १ वर्षको प्याकेज नै खरिद गर्नुपर्छ, जसका लागि न्यूनतम १४,८९४ रुपैयाँ एकै पटक भुक्तानी गर्नुपर्ने छ । एकै पटक १२ महिनाको शुल्क बुझाउँदा समेत वर्ल्डलिंकको इन्टरनेटलाई मासिक १ हजार २४१ रुपैयाँ (दूरसञ्चार सेवा शुल्कसहित) पर्न आउँछ ।
त्यस्तै भायानेटले प्राधिकरणबाट न्यूनतम ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९०७.०८ रुपैयाँ ट्यारिफ स्वीकृति लिएको छ । तर, भायानेटले सस्ता र कम गतिका प्याकेज बिक्री गर्न छाडेको छ । अब ग्राहकले कम्तीमा न्यूनतम प्याकेज २०० एमबीपीएस क्षमताको ३ महिनाका लागि ४,८०० रुपैयाँ तिर्नैपर्नेछ । यसले गर्दा सस्तोमा कम गति तथा छोटो अवधिको इन्टरनेट खोज्ने उपभोक्ताहरू मर्कामा परेका छन् ।
यसैगरी सुबिसुले प्राधिकरणबाट न्यूनतम २० एमबीपीएसको मासिक ७५१ का लागि ट्यारिफ स्वीकृति लिएको छ । तर हाल उसले साना प्याकेजहरू बन्द गरी २०० एमबीपीएस क्षमताको ३ महिनाका लागि कूल ४,८०० रुपैयाँ पर्ने प्याकेजलाई न्यूनतम बिक्री विकल्पका रूपमा राखेको छ ।
भायानेट र सुबिसुको न्यूनतम प्याकेजको इन्टरनेटका लागि ३ महिनाको शुल्क एकै पटक भुक्तानी गर्दा समेत मासिक १६०० रुपैयाँ हुन आउँछ । नयाँ कनेक्सन लिने ग्राहकले तार, राउटर र डिपोजिटका लागि छुट्टै शुल्क बुझाउनु पर्ने हुनसक्छ ।
नियामक प्राधिकरणबाट साना र सुलभ महसुल दरका प्याकेजहरू स्वीकृत भए तापनि आईएसपीहरूले संयुक्त रूपमा अल्पकालीन प्याकेज हटाएर लामो अवधि र ठुलो रकमका प्याकेज मात्र बिक्री गर्दा न्यून आय भएका तथा कम इन्टरनेट खपत गर्ने उपभोक्ताहरूलाई प्रत्यक्ष आर्थिक भार परेको छ ।





