बुटवल । मध्यरातमा घरबाटै १० वर्षीया बालिकाको अपहरण गर्ने व्यक्तिलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ । तिलोत्तमा नगरपालिका-१७ दरखसवाका २७ वर्षीय विशाल भन्ने युवराज थारुलाई प्रहरीले शनिबार राति दरखसवाकै धानखेतबाट नियन्त्रणमा लिएको हो । थारुले बुधबार राति रुपन्देहीको तिलोत्तमा-१७ दरखसवाकी १० वर्षीया बालिकालाई सुतिरहेको अवस्थामा घरबाटै अपहरण गरेको प्रहरीको आशंका छ ।

अपहरणमा परेकी बालिकालाई प्रहरीले शुक्रबार राति झन्डै ४० घण्टापछि तिलोत्तमा नगरपालिका-१० कान्छीबजारनजिकैको जंगलबाट सकुशल उद्धार गरेको थियो । बालिकाको अपहरणमा थारुको संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको थियो ।

खोजीका क्रममा जंगलमा एक्लै छोडिएको अवस्थामा बालिका फेला परेकी थिइन् । बालिकालाई सकुशल उद्धार गरेपछि करिब १ सय ५० प्रहरी परिचालन गरेर थारुको खोजी गरिएको र शनिबार राति धानखेतमा लुकेको अवस्थामा उनलाई फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।