सिमभञ्ज्याङ् । काठमाडौंबाट छुटेका एक सयबढी यात्रुबहाक बस ३६ घण्टादेखि मकवानपुर-पालुङ-हेटौंडा
सडकखण्डमा आवगमन नहुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
शुक्रबार राती कलङ्कीबाट दशैं लगायतका महान् पर्व मनाउन घर फर्किएका एक सयबढी बसमा सवार पाँच हजार बढी यात्रु तीन दिनदेखि पालुङ-सिमभञ्ज्याङ्देखि हेटौंडाको जङ्गलमा
अलपत्र परेका हुन् ।
स्थानीय निकाय र मकवानपुरका जिल्ला प्रशासन कार्यालयको प्रभावकारी समन्वय नहुदा तीन दिनदेखि यात्रुले खान र शौच गर्न पाएका छैनन् ।
पालुङ-सिमभञ्ज्याङ्देखि हेटौंडाको जङ्गलमा नेटवर्क बिहिन अवस्थामा अलपत्र परेका यात्रामध्ये ससाना नानी, सुत्केरी महिला, वृद्धबृद्वा लामो समय जाममा परेकाले बिरामी पर्न थालेका छन् । उक्त बिषयलाई लिएर थाहा नगरपालिका-१ ओखरबजारको पालुङबाट मकवानपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पटकपटक यात्रुले जानकारी गराएका थिए ।
आवगमनको बैकल्पिक बाटो पालुङ सडक खण्डको चौडाई सानो र घुमाउरो भएकाले दुबैतर्फबाट आवगमन ठप्प भएको हो ।
यात्रुबहाक र मालबहाक सवारी पास नहुँदा शनिबार बिहान ६ बजेदेखि करिब ९ घण्टासम्म अवरुद्धपछि अपरान्ह तीन बजे सवारी अघि बढेका थिए । सो क्रममा यात्रुका लागि उपयुुक्त खाना खाने र शौचालय नहुदा भोकै बस्न बाध्य छन् ।
काठमाडौं-धादिङ सडक खण्डमा एलपिजि ग्यासको बुलेट शुक्रबार पल्टिनुका साथै सडक धसिएका कारण उक्त बाटोबाट आवगमन नगर्न प्रशासनले निर्देशन गरेको थियो । यात्रा गरेको ३६ घण्टामा थाहा-४ सिमभञ्ज्याङ्देखि तल वा अब हेटौंडा पुग्न ३० किलोमिटरबढी छ । हाल सिमभञ्ज्याङ्देखि तल करिब एकैतर्फ १२० वटा यात्रुबहाक अलपत्र परेका छन् भने सोही सडकमा धेरै १८ देखि २२ चक्के मालबहाक सवारी बिपरित दिशाबाट प्रवेश गरेका सवारी साधन पनि ठप्प भएका छन् ।
मकवानपुरको उक्त बाटो समयनुसार खोल्ने र बन्द गर्ने भएकाले पनि निर्धारित समयमा यात्रुलाई गन्तव्यमा पुग्न नसकेका हुन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, प्रहरी प्रमुख एसपि श्यामबहादुर खत्री र इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरलाई समस्याबारे जानकारी गराउदा समेत मलबहाक सवारी छोडिदिएका कारण यात्रुबहाक बस आवगमनमा समस्या आएको हो ।
सिन्दुलीको बाटोमा १२ मिटर लामो सवारी अवगमनमा नहुने भएकाले प्रशासनले शुक्रबार राती यात्रु बहाक बस नापजाँचपछी ११ मिटर लामो बस छोडिदिएको थियो ।





