झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता तथा मासिक बैठक सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्का तथा मातहतका सिनियर प्रहरी अधिकृत कार्यालय प्रमुखहरूको भौतिक उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा मातहतका प्रहरी कार्यालयहरूले आगामी आर्थिक वर्षमा सम्पादन गर्ने कार्य, जिम्मेवारी तथा प्राथमिकताका विषयमा सम्झौता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सम्झौता सम्पन्न भएपछि प्रहरी उपरीक्षक खड्काले मातहतका प्रहरी कार्यालय प्रमुखहरूलाई शान्ति–सुरक्षा कायम गर्न थप सक्रिय र जिम्मेवार भएर काम गर्न निर्देशन दिएकी थिइन् । उनले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन, विपद् व्यवस्थापनमा तयारी अवस्थामा रहन तथा प्रहरीको आचरण र व्यवहारलाई मर्यादित बनाउन विशेष जोड दिइन्।
त्यसैगरी जिल्लाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने, नागरिकसँग प्रहरीको सम्बन्ध थप सुदृढ गर्ने तथा प्रहरी सेवा प्रवाहलाई चुस्त बनाउने विषयमा समेत आवश्यक निर्देशन दिइएको थियो। कार्यक्रममा मातहतका प्रहरी कार्यालयहरूको कार्यसम्पादन, सुरक्षा अवस्था तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समेत छलफल भएको जनाइएको छ।





