झापा । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत झापा जिल्लामा पालिका अधिवेशनको उत्साह सकिन नपाउँदै आन्तरिक गुटबन्दी र तीव्र ध्रुवीकरण सतहमा आएको छ । पार्टीलाई एक ढिक्का बनाएर लैजाने नेतृत्वको नारा र दाबीलाई चुनौती दिँदै विशेषगरी झापा क्षेत्र नम्बर १ (क) मा देखिएको नेतृत्वको टकरावले तल्लो तहका कार्यकर्ता र युवाहरूमा गम्भीर अन्योल पैदा गरिदिएको छ । पार्टीका केन्द्रीय उपसभापति एवं युवा नेता विश्वप्रकाश शर्माको आफ्नै गृहक्षेत्रमा देखिएको यो विभाजनले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व व्यवस्थापनको कमजोरी र पुस्तान्तरणको बहशलाई पुनः गम्भीर मोडमा पुर्याएको छ ।
यसैबीच, तीव्र प्रतिस्पर्धाका बीच झापा क्षेत्र नम्बर १ (क) को नगर र क्षेत्रीय अधिवेशनको मतदान कार्य सम्पन्न भएको छ । कूल ७३७ जना मतदाता रहेको यस क्षेत्रमा ७२७ मत खसेको निर्वाचन समितिले जनाएको छ । यस क्षेत्रमा कसले बाजी मार्ला भन्ने कौतुहलताका बीच आज सोमबार बिहान १० बजेदेखि मतगणना सुरु हुँदैछ । क्षेत्र नं. १ (क) मा दुई सभापति गुट कि आन्तरिक लोकतन्त्र हो भन्ने ठम्याउन भने सकेका छैनन् ।
यस क्षेत्रको सभापति पदमा दुई प्रभावशाली आकांक्षीहरू इन्द्रबहादुर बुढाथोकी र युवा नेता सुवेश पनेरु चुनावी मैदानमा उत्रिएपछि राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । क्षेत्रका स्थापित र पुराना नेताहरूले इन्द्रबहादुर बुढाथोकीलाई पुनः अघि सार्ने अडान लिइरहँदा, तल्लो तहका आम कार्यकर्ता, जुझारू युवा र नयाँ पुस्ताले भने फरक मत राखेका छन् । परिपक्व र जेन्जी आन्दोलनपछिको बदलिँदो राजनीतिक परिवेशमा स्पष्ट दृष्टिकोण भएका युवा नेता सुवेश पनेरुलाई नेतृत्व दिनुपर्ने अडानसहित युवाहरूले उहाँलाई अघि बढाएका हुन् ।
संस्थापन पक्ष वा स्थापित नेताहरूले एउटा पक्ष रोज्ने र आम कार्यकर्ताले अर्को युवा नेतृत्वलाई अघि सार्ने यो प्रक्रियालाई कतिपयले परम्परागत गुट उपगुटको संज्ञा दिएका छन् भने कतिपयले यसलाई नेतृत्वको विभेद र पक्षपातविरुद्धको विद्रोही कदमका रूपमा बुझेका छन् । `हामी आफैँ अन्योलमा छौँ । लोकतान्त्रिक पद्धति स्वीकार गर्दै इन्द्रबहादुरजीको एक कार्यकाल हेरियो, यो पटक नयाँ जोस जाँगरसहितका युवालाई अवसर दिऊँ भन्ने आम सोच छ ।´एउटै पार्टीभित्र उम्मेद्वारी मिलाउन नसक्नु शीर्ष नेताको ठूलो कमजोरी भएको मतदाताको भनाई छ । मतदानका लागि टाउन हलको गेटअगाडि लामबद्ध भएका एक युवा मतदाताहरुले शीर्ष नेतृत्वको कमजोरी र समन्वयको अभाव भएको धारणा राखे । कांग्रेस बृतमा यसले चर्चा पाएको उनीहरुको भनाई छ ।
पार्टीका पुराना र त्यागी कार्यकर्ताहरूका अनुसार इन्द्रबहादुर बुढाथोकीले क्षेत्रीय सभापति एक पटक सम्हालिसकेकाले उनलाई जिल्ला नेतृत्व वा आगामी स्थानीय तहको निर्वाचनमा नगरको मेयर जस्ता जिम्मेवारीका लागि मार्गप्रशस्त गरिनुपर्दथ्यो । तर, यी सबै कुरा मिलाउन र आवश्यक समन्वय गर्न केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मा असमर्थ रहेको आरोप कार्यकर्ता पंक्तिबाटै लाग्न थालेको छ । नेताहरूमा देखिएको यहीँ पक्षपातपूर्ण व्यवहारकै कारण सुवेश पनेरुले विद्रोही रूपमा बलियो उम्मेद्वारी दर्ता गराएको विश्लेषण गरिएको छ । पुस्तान्तरणको प्रश्न जेन्जी आन्दोलनपछि युवालाई अवसर कहाँ छ एक पुराना कांग्रेस कार्यकर्ताले आक्रोश पोख्दै प्रश्न गरे, नेतृत्व काठमाडौँ केन्द्रित मात्रै बन्यो । युवालाई पनि त अवसर चाहिन्छ नि, जेन्जी आन्दोलनपछि कांग्रेसभित्र युवालाई अवसर चाहिँ कहाँ देखियो त ? केही युवालाई नगरको नेतृत्वमा पुर्याएर मात्र पुग्दैन, नीति निर्माण तह र क्षेत्रमा केही गरेर देखाउँछु भन्ने स्पष्ट धारणा बोकेका सुवेश जस्ता युवालाई एकपटक नेतृत्व गर्न दिनै पर्दथ्यो ।
१३ वटा पालिकामा नेतृत्व चयन सफल:
झापाका १५ वटा पालिकामध्ये १३ वटा पालिकामा नेतृत्व चयन सफल भएको छ । झापा जिल्लाको समग्र अवस्था उत्साहमाथि शंकाको बादलयसअघि असोज ७ गते सम्पन्न पालिका अधिवेशनहरूबाट झापाका प्रमुख स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको छ । जसमा मेचीनगरमा योगेन्द्र थापा मगर, बुद्धशान्तिमा मदनकुमार प्रसाईं, अर्जुनधारामा भीष्म मिश्र, बिर्तामोडमा कुलप्रसाद संग्रौला, भद्रपुरमा बन्धु कार्की र कचनकवल गाउँपालिकामा तुलाराम अधिकारी निर्वाचित भएका छन् । त्यस्तै कन्काई नगरपालिकामा दुर्गाप्रसाद प्रसाईं, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत, गौरादह नगरपालिकामा प्रकाश कार्की, हल्दिबारी गाउँपालिकामा गंगाप्रसाद प्रसाईं, बाह्रदशी गाउँपालिकामा इन्द्रबहादुर बस्नेत, झापा गाउँपालिकामा सागीरथ गणेश, गौरीगञ्ज गाउँपालिकामा अगनुप्रसाद राजवंशी सभापतिमा निर्वाचित भएका छन् ।
पालिका तहमा उत्साहजनक रूपमा नयाँ कार्यसमिति निर्वाचित भए तापनि क्षेत्र र जिल्ला अधिवेशन नजिकिँदै जाँदा झापा कांग्रेसमा गुटगत प्रतिष्ठाको लडाईं थप पेचिलो बनेको छ । पार्टीभित्र गुट र उपगुटको दलदललाई चिर्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउने उद्घोष गरिए पनि झापा क्षेत्र नं. १ (क) को यो घटनाले भनाइ र गराईंमा ठूलो खाडल रहेको पुष्टि गर्छ । आफ्नै गृहक्षेत्रको विवाद मिलाउन नसक्दा उपसभापति विश्वप्रकाश शर्मामाथि प्रश्न सोझिएको छ ।





