काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई यान्त्रिक रूपमा हतकडी नलगाउन प्रहरीलाई आदेश दिएको छ । पक्राउ परेको व्यक्ति भाग्न उम्कने, पक्राउको प्रतिरोध गर्ने वा आफू तथा अरूलाई क्षति पुर्याउन सक्ने जोखिमको वस्तुनिष्ठ मूल्यांकन गरेर हतकडी लगाउनुपर्ने अदालतको आदेश छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । अदालतले हतकडी लगाउनु अपरिहार्य हुने अवस्था नदेखिएका व्यक्तिलाई पक्राउ परेकै आधारमा हतकडी लगाउन नहुने भनेको छ ।
हतकडीको गैरकानुनी प्रयोग भएको दाबी गर्दै विवेक चौधरी, रोशन आउजी र विकास यादवले सर्वोच्चमा रिट निवेदन दिएका थिए । सो रिटको अन्तिम टुंगो नलागेसम्म मनमौजी रूपमा हत्कडी नलगाउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।





