झापा । झापामा पहिलो पटक नागरिकलाई प्रविधिको प्रयोगमार्फत घरबाटै प्रशासनिक सेवाको अवस्था जानकारी लिन सक्ने व्यवस्था सुरु गर्न छ  । नागरिकलाई राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाको अवस्था घरबाटै बुझ्न सकिने प्रविधिमैत्री सेवा सुरु गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले नागरिकको सहजताका लागि भोलिदेखि वर्ट्सप नम्बर सार्वजनिक गर्ने भएको हो । उक्त नम्बरमा सेवाग्राहीले आफ्नो राष्ट्रिय परिचयपत्र वा राहदानीको आवेदन फारमको फोटो खिचेर पठाउन सक्नेछन् ।

वर्ट्सपमार्फत प्राप्त आवेदनको विवरणका आधारमा हेल्प डेस्कमा कार्यरत कर्मचारीले सम्बन्धित सेवाग्राहीको आवेदनको स्टाटस जाँच गरी पुनः वर्ट्सप मार्फत जानकारी गराउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार सार्वजनिक गरिने वर्ट्सप नम्बरमा फोन गर्न भने पाइने छैन । उक्त नम्बर केवल आफूले माग गरेको सेवा तथा आवश्यक कागजातको फोटो पठाउन र आवेदनको अवस्था (Status) बारे जानकारी लिन प्रयोग गर्न सकिनेछ ।

जिल्ला प्रशासन कार्यालय झापाले यस सेवाले राहदानी तथा राष्ट्रिय परिचयपत्रको अवस्था बुझ्न कार्यालयमै पुग्नुपर्ने बाध्यता कम गर्ने र सेवाग्राहीको समय तथा खर्च बचत हुने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।

यसबाट सेवाग्राहीलाई अनावश्यक दुःख, झन्झट र कार्यालय धाउनुपर्ने अवस्थाबाट राहत पुग्ने अपेक्षा गरिएको छ ।