सिमभञ्ज्याङ् । काठमाडौं–धादिङ सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको मकवानपुरको पालुङ–सिमभञ्ज्याङ्–हेटौँडा सडकखण्डमा तीन दिनदेखि अलपत्र परेका हजारौँ यात्रु अन्ततः हेटौँडा पुगेका छन्। दशैँलगायतका चाडपर्व मनाउन घर फर्किएका यात्रु सवार एक सयभन्दा बढी बस लामो समयसम्म सडकमा रोकिँदा बालबालिका, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकले सास्ती खेप्नुपरेको थियो।

शुक्रबार राति काठमाडौंको कलङ्कीबाट छुटेका बसहरू पालुङ, सिमभञ्ज्याङ् हुँदै हेटौँडा जाने क्रममा सडकमा रोकिएका हुन्। यात्रुहरूका अनुसार सडकमा सवारी आवागमन अवरुद्ध हुँदा उनीहरूले समयमै खाना खान तथा शौचालय प्रयोग गर्नसमेत पाएका थिएनन्। लामो समयसम्म जाममा फसेका बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धा बिरामी पर्न थालेका थिए।

थाहा नगरपालिका–४ सिमभञ्ज्याङ् क्षेत्रबाट हेटौँडा पुग्न अझै ३० किलोमिटरभन्दा बढी दूरी पार गर्नुपर्ने अवस्थामा यात्रुहरू अलपत्र परेका थिए। सडकमा मोबाइल नेटवर्कसमेत नहुँदा यात्रुहरूलाई परिवार तथा आफन्तसँग सम्पर्क गर्न कठिनाइ भएको थियो।

यात्रुहरूले थाहा नगरपालिका–१ ओखरबजारस्थित पालुङ क्षेत्रबाट मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्री तथा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई पटकपटक समस्याबारे जानकारी गराएको बताएका छन्। तर, यात्रुहरूको गुनासोअनुसार मालवाहक सवारीसाधनलाई समेत आवागमन गर्न दिइँदा यात्रुवाहक बस सञ्चालनमा थप समस्या भएको थियो।