झापा । स्वास्थ्य बीमा कार्यक्रममा पर्ने नक्कली दाबीहरूलाई घटाउन स्वास्थ्य बीमा बोर्डले आफ्नो बीमा कार्यक्रमलाई डिजिटल प्रणालीमा अपग्रेड गर्ने जनाएको छ । लामो समय अस्पतालहरूको भुक्तानी तिर्न नसकेका कारण सेवा नै अवरूद्ध हुन पुगेकोमा अहिले आफूसँग सम्बद्ध सबै स्वास्थ्य संस्थाहरूले सेवा दिइरहेको बोर्डले जनाएको हो । सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै उक्त कार्यक्रमका लागि मात्रै यो वर्ष स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ छुट्याएको थियो। त्यसमध्ये ११ अर्ब अघिल्लो वर्षकै भुक्तानीका लागि खर्च भइसकेको र बाँकी चारअर्ब रुपैयाँले साउनयताका चार पाँच महिना धान्ने ठानिएको अधिकारीहरूले बताएका छन् । तर एकजना साइबर विज्ञ भने यसरी डिजिटल प्रणालीमा जाँदा एउटा कार्यढाँचा स्पष्ट पारेर मात्रै जानुपर्ने नभए त्यसले धेरै जोखिमहरू निम्त्याउनसक्ने बताउँछन्।नागरिकहरूलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेर स्वास्थ्य बीमा बोर्डमार्फत् राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सरकारले सञ्चालनमा ल्याएको हो। त्यसअनुसार १ देखि ५ जनासम्मको परिवारका लागि वार्षिक ३५ सय रूपैयाँ तिर्दा एक लाख रुपैयाँ सम्मको स्वास्थ्य सेवा पाइन्छ। तर त्यसअनुसार पर्ने दाबी थेग्नै नसकिने भन्दै त्यसका लागि सुधारहरू गर्नुपर्ने देखिएको विज्ञहरूले बताउँदै आएका थिए।





