इलाम । इलामको रोङ गाउँपालिकाले  शारीरिक रुपमा अपाङ्ग नागरिकलाई घरमै स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ ।

शारीरिक रुपमा अशक्त भएर स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य सेवा केन्द्रमा पुग्न नसक्ने व्यक्तिहरुलाई गाँउपालिकाले घरमै स्वास्थ सेवा उपलब्ध गराएको हो । मेची अस्पतालका डाक्टर नवीन भुजेलसहित गाउँपालिकाको टोलीले सार्वजनिक बिदाको दिनमा घर-घरमै पुगेर सेवा दिन थालेको हो ।

उनीहरुको स्वास्थ्य परीक्षणसहित अपाङ्गता भएका व्यक्तिका लागि प्रयोगमा रहेका रातो, निलोसहितका कार्डहरू र विभिन्न सामग्रीसमेत हस्तान्तरण गरिएको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् । रोङका सबै वडामा रहेका अपाङ्गता भएका व्यक्तिका घर–घरमै पुगेर उनीहरूको आवश्यकता अनुसार ह्वील चियर र स्लिपिङ ब्यागसमेत हस्तान्तरण गरिएको उनको भनाई छ ।

गाउँपालिकाले यो वर्ष चार लाख बराबरको सामग्री अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराएको छ । रोङमा तीन सय ६५ जना अपाङ्गता भएका व्यक्ति रहेको र ति मध्ये ३६ जना रातो कार्ड भएका र ६५ जना सेतो कार्ड भएका व्यक्तिहरू रहेको गाउँपालिकाले जनाएको छ ।