बिर्तामोड । नेकपा (माओवादी केन्द्र) ले झापामा रहेको गिरीबन्धु टि-स्टेट भ्रष्टाचार प्रकरणमा सम्लग्नलाई कार्वाहीको माग राख्दै शनिबार खबरदारी गरेको छ ।
(माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष ३ महिने रुपान्तरण’ अभियान अन्तरगत गिरीबन्धु टि-स्टेट प्रकरण विरुद्धको र्याली र कोणसभा गर्दै खबरदारी गरेको हो ।गिरीबन्धु टि-स्टेटको फाइल तुरुन्त खोल, भष्ट्राचार विरुद्धको अभियान सफल पारौं, माओवादी केन्द्र जिन्दावाद, संसारका मजदुर एक हौं, सुकुम्बासीलाई लगाइएको कर निःशुल्क गर, श्रम ऐन तथा सामाजिक सुरक्षा सम्झौता कार्यान्वयन गर, लगायतका नारासहित र्याली गरेको हो ।
बिर्तामोडस्थित सिटी सेन्टरबाट शुरु भएको भ्रष्टाचार प्रकरण विरुद्धको र्याली मुक्तिचोक हुँदै अधुवा खोलाबाट पुनः मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिकुमार रानाले सामान्तबादी राज्यसत्ताको अन्त्य भएपनि शासकहरुमा सामान्तबादी चिन्तनले रहिरहेको बताए । सामान्तवादी शासकको अन्त्य गर्नका लागि माओवादीले शुरु गरेको तीन महिने अभियानमा सबैले साथ तथा सहयोग गर्न आग्रहसमेत गरेका थिए । माओवादी केन्द्र बिर्तामोड- ५ को आयोजनामा बिर्तामोडमा बिभिन्न प्ले कार्ड बोकेर नाराजुलुससहित र्याली गरिएको हो । र्याली कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, बिर्तामोड नगरका पदाधिकारी तथा सदस्य, वडाका पदाधिकारी तथा सदस्यलगायतको बाक्लो उपस्थिति रहेको थियो ।