झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को प्रकोप बढेपछि सञ्चालन गरिएको खोप अभियानमा लक्षित जनसंख्याको ७०.३ प्रतिशतले खोप लगाएका छन् ।

तीन महिनाको अवधिमा जेईका कारण ७ जनाको मृत्यु भएपछि सरकारले जिल्लाका १५ वटै स्थानीय तहमा अभियान सञ्चालन गरेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार असोज १५ गते अपराह्न ४ बजेसम्म ४ लाख ९३ हजार ३ सय १९ जना लक्षित जनसंख्यामध्ये ३ लाख ४६ हजार ७ सय ७७ जनाले खोप लगाएका छन्। अभियान असोज ५ गतेदेखि १५ गतेसम्म ११ दिन सञ्चालन गरिएको थियो।

अझै १ लाख ४६ हजार ५ सय ४२ जना लक्षित जनसंख्या खोपको पहुँचमा आउन बाँकी छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख व्रिजकुमार दासका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका करिब १० प्रतिशत मानिस देशबाहिर रहेकाले पनि लक्ष्यअनुसार खोप लगाउन नसकिएको हो। जिल्लामै रहेका तर खोप लगाउन छुटेकालाई स्वास्थ्य संस्थामार्फत पुनः खोप लगाइने उनले बताए।

स्थानीय तहमध्ये हल्दिबारीमा सबैभन्दा बढी ८१ प्रतिशतले खोप लगाएका छन्। बाह्रदशीमा ७७.५, गौरीगञ्जमा ७६.७, झापा गाउँपालिकामा ७६.१, कचनकवलमा ७५.१, कनकाईमा ७४.६, बिर्तामोडमा ७४.१, मेचीनगरमा ७२.८ र बुद्धशान्तिमा ७१.८ प्रतिशतले खोप लगाएका छन्।

गौरादहमा ७०.२ प्रतिशत, दमकमा ६८.२, अर्जुनधारामा ६७.२ र शिवसताक्षीमा ६३.९ प्रतिशतले खोप लगाएका छन्। सबैभन्दा कम भद्रपुरमा ५३ प्रतिशतले मात्रै खोप लगाएका छन्। भद्रपुरका ३४ हजार ६ सय ८० लक्षित जनसंख्यामध्ये १८ हजार ३ सय ७३ जनाले खोप लगाएका छन्।

संख्याका आधारमा भने मेचीनगरमा सबैभन्दा धेरै ४६ हजार ७ सय ५० जनाले खोप लगाएका छन् । बिर्तामोडमा ४४ हजार २ सय ६२ र दमकमा ३७ हजार ७ सय ३६ जनाले खोप लिएका छन् ।

खोप लगाउनेमध्ये महिलाको संख्या पुरुषको भन्दा बढी छ। कुल खोप लगाउनेमध्ये करिब ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुष छन्। अभियानमा खोप लगाएका ३ लाख ४६ हजार ७ सय ७७ जनामध्ये १ लाख ९७ हजार ९० जना महिला र १ लाख ४९ हजार ६ सय ८७ जना पुरुष छन्।

३० देखि ६० वर्ष उमेर समूहमा महिलाको सहभागिता अझ बढी देखिएको छ। यस उमेर समूहमा १ लाख ५३ हजार ७ सय ४४ महिला र १ लाख ८ हजार २ सय १९ पुरुषले खोप लगाएका छन्। ६० वर्षभन्दा माथिका ४३ हजार ३ सय ४६ महिला र ४१ हजार ४ सय ६८ पुरुषले खोप लिएका छन्।

अभियानमा खोप लगाउनेमध्ये करिब तीन चौथाइ ३० देखि ६० वर्ष उमेर समूहका छन्। यो उमेर समूहका मात्रै २ लाख ६१ हजार ९ सय ६३ जनाले खोप लगाएका छन्।

नेपालमा जेईविरुद्धको खोप सन् १९९९ देखि प्रयोगमा आएको हो। २० वर्षअघि नै एक वर्षमुनिका बालबालिकालाई नियमित रूपमा यो खोप दिँदै आएको छ।