झापा । उज्यालो नेपाल पार्टीको केन्द्रिय सदस्यमा मनोनीत भएपछि प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष पत्रकार सन्तोष आचार्यलाई पार्टीले स्वागत तथा सम्मान गरेको छ । झापाको मेचीनगर–६ काँकरभिट्टा निवासी आचार्यलाई पार्टीमा प्रवेशसँगै केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो । पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौंमा उनलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो ।
सम्मान कार्यक्रममा आचार्यले आफूले पत्रकारिता र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई अब राजनीतिक तथा सामाजिक रूपान्तरणको अभियानमा उपयोग गर्ने बताए । उनले समृद्ध देश निर्माण, सुशासन र सामाजिक रूपान्तरणका लागि सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले हिजोको राजनीतिक अवस्थामा देशभर रातोमय भएको थियो, त्यसपछी निलोमय भएर देशको नेतृत्व गरिरहेको छ । अब आगामी दिनमा देशलाई हरितमय बनाएर देश र जनताको सेवा गर्ने उद्देश्य आफू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेको केन्द्रिय सदस्य आचार्यको भनाई थियो ।
आचार्य प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सचिव तथा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्षसमेत हुन् । उनी यसअघि नेकपा एमालेको राजनीतिमा सक्रिय थिए ।
उज्यालो नेपालका जिल्ला अध्यक्ष चुडाकर्ण वेघाको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा केन्द्रिय सदस्य अग्निमाया मेचे, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, नवराज प्रधान, पत्रकार शिशिर चम्लागाईँलगायतले नवनिर्वाचित आचार्यलाई स्वागत तथा शुभकामना दिएका थिए ।






















































