चारआली । नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन–२०२६ को तयारी तीव्र पारिएको छ। चारआली जेसीजको आतिथ्यमा आगामी असोज ९ र १० गते (सेप्टेम्बर २५–२६, २०२६) हुने सम्मेलनको तयारी, उद्देश्य, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार चारआलीमा पत्रकार सम्मेलन आयोजना गरिएको हो।
पत्रकार सम्मेलनमा सम्मेलन निर्देशक उत्तमप्रसाद पकुवालले पूर्वी नेपालका करिब ४८ वटा जेसीज शाखा र करिब एक हजारभन्दा बढी युवाको सहभागिता रहने अपेक्षा गरिएको छ । सम्मेलनले युवाको नेतृत्व विकास, उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियोे ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य सबिना बजगाई प्रमुख अतिथिका रूपमा सहभागी भइ युवाको नेतृत्व विकास र सामाजिक रूपान्तरणमा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताइन् । नेपाल जेसीजका केन्द्रीय उपाध्यक्ष दिपेश राजबंशीले सम्मेलनले क्षेत्रीय शाखाबीच सहकार्य, नेतृत्व र नवप्रवर्तनलाई थप मजबुत बनाउने धारणा राखे ।
त्यस्तै, चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णु रिमाल, धुलाबारी जेसीजका पूर्व अध्यक्ष विपुल श्रेष्ठ तथा मेची उद्योग वाणिज्य संघका महासचिव ध्रुव कनाल ले सम्मेलन सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए।
सम्मेलनको राष्ट्रिय नारा एम्स, एक्ट र एचिभ उद्देश्य रहनेछ। सम्मेलनअन्तर्गत अन्तर–शाखा वक्तृत्वकला प्रतियोगिता, ‘प्रोजेक्ट संकल्प’ विषयक सेमिनार, सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादन प्रदर्शनीलगायतका कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनका लागि ४० लाख रुपैयाँको अनुमानित बजेट तय गरिएको छ। बजेटमध्ये १३ लाख रुपैयाँ दर्ता शुल्कबाट, ५ लाख प्रदेश तथा राष्ट्रिय स्तरबाट, १० लाख स्थानीय सरकारबाट र १२ लाख प्रायोजक तथा सहयोगी संस्थाबाट जुटाइने लक्ष्य राखिएको छ। खर्चतर्फ अतिथि सत्कार तथा भोजनमा १२ लाख, प्रविधि तथा अडियो–भिजुअल व्यवस्थापनमा ६ लाख, भौतिक पूर्वाधारमा ४ लाख ५० हजार, प्रचार–प्रसारमा ३ लाख, मायाको चिनो तथा सम्मानमा ३ लाख, प्रशिक्षण तथा वक्ता व्यवस्थापनमा ३ लाख ५० हजार, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापनमा ३ लाख, सांस्कृतिक कार्यक्रमका लागि २ लाख र विविध प्रशासनिक खर्चमा ३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
आयोजकले सम्मेलन सम्पन्न भएको १५ दिनभित्र लेखापरीक्षण गरी पारदर्शी रूपमा प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएको छ। साथै सम्मेलन सफल बनाउन सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा समुदायको सहयोगको अपेक्षा गरिएको छ । सन्जय निरौलाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन तथा सचिवालय उद्घाटनको सन्चालन बिरु वेघाले र उत्सव भट्टराईले जेसिज वाचन गरेका थिए ।























































