झापा । झापाको भद्रपुर नगरपालिका–४ स्थित ऐग्रो कार्यालय नजिक मायालु वन क्षेत्रमा हाती धपाउनका लागि लगाइएको करेन्ट प्रवाह भएको नाङ्गो तारमा छोएर एक वृद्धाको मृत्यु भएको छ।
बुधबार बिहान करिब ९ बजे स्थानीय लाखबहादुर लिम्बुकी श्रीमती ६५ वर्षीया सनज्योति लिम्बु आफ्नै बारीमा जाँदा हाती धपाउनका लागि जडान गरिएको नाङ्गो विद्युतीय तारमा छोएपछि करेन्ट लागेर ढलेकी थिइन्।
उनी करेन्ट लागेर लडिरहेको अवस्थामा बुहारी सविता खड्काले देखेपछि बिहान करिब ११ बजे प्रहरी चौकी महेशपुरमा खबर गरेकी थिइन्। सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक विशाल श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार घटनास्थलमा पुग्दा सनज्योति लिम्बुको मृत्यु भइसकेको थियो। शवलाई कानुनी प्रक्रिया पूरा गरी सुरक्षित राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जंगली हातीबाट बाली जोगाउन विद्युतीय करेन्ट प्रवाह हुने नाङ्गो तार प्रयोग गर्दा यस्ता दुःखद घटना दोहोरिने भएकाले सुरक्षित र कानुनी उपाय अपनाउन स्थानीय प्रशासनले आग्रह गर्दै आएको छ।






















































