झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ । आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई रंगेहात पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानअनुसार लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गराइदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागी लिएको आरोप लागेको छ ।
सूचना अधिकारी पोखरेलका अनुसार बरामद गरिएको घुस रकमको यकिन गर्ने तथा घटनासम्बन्धी थप तथ्य सङ्कलन गर्ने कार्य भइरहेको छ । कर अधिकृत पालमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।






















































