झापा। सशस्त्र प्रहरी बल, नेपाल बेस क्याम्प शनिश्चरेले भन्सार छली गरी नेपाल भित्र्याइएको करिब १३ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको चिनी नियन्त्रणमा लिएको जनाएको छ।

बेस क्याम्पका प्रमुख डिएसपी मदन रसाइलीका अनुसार नियमित चेकजाँचका क्रममा भारतबाट भन्सार छल गरी ल्याइएको आशंकामा २५ बोरा (प्रति बोरा ५० केजी) चिनी बरामद गरिएको हो। बरामद गरिएको चिनीको अनुमानित मूल्य करिब १ लाख १२ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय, भद्रपुरका डिएसपी सूचना अधिकारी मदन रसाइलीले जनाकारी दिए ।

प्रहरीले चिनी ओसारपसारमा प्रयोग भएको च १–०१–००१ ज ४०३८ नम्बरको मालवाहक सवारी साधन तथा मे १० प ५७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ट्रकको अनुमानित मूल्य करिब १० लाख रुपैयाँ र मोटरसाइकलको मूल्य करिब २ लाख रुपैयाँ रहेको छ। यससँगै नियन्त्रणमा लिइएको सामान तथा सवारी साधनको कुल मूल्य १३ लाख रुपैयाँभन्दा बढी पुगेको जनाएको छ। आइतबार भन्सार कार्यालय नखुलेका कारण सोमबार भन्सारमा बुझाउने तयारी गरेको नयव निरीक्षक रसाइलीले जानकारी दिए ।

प्रहरीले उक्त चिनी व्यवसायी पिन्टु शाहसँग सम्बन्धित रहेको प्रारम्भिक रूपमा खुलाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै केही समूहले भन्सार छल गरी दैनिक उपभोग्य वस्तु तथा सरकारले नियमन गरेका सामान अवैध रूपमा नेपाल भित्र्याउने क्रम अझै रोकिएको छैन। यस्ता गतिविधिले राज्यको राजस्वमा क्षति पुग्नुका साथै वैधानिक रूपमा व्यापार गर्ने व्यवसायीहरू समेत प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्।

सशस्त्र प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा चेकजाँच कडा बनाउँदै भन्सार छली र तस्करी नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ।