झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साहलाई दश हजार घुससहित रंगेहात पक्राउ गरेको छ । वडा सचिव साहले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीलाई दुःख दिई र घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको हो ।वडा सचिव साहलाई सेवाग्राहीबाट दश हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सोही वडाको कुञ्जीबारी बजारको एक होटलबाट रंगेहात पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।






















































