प्रकाश उप्रेती

झापा। नेपाल–भारत खुला सीमामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले सीमा नाकाहरूमा आइतबारदेखि सीमा समन्वय टोली (बोर्डर इन्टेर्डिक्सन टिम) (बिआइटी) परिचालन सुरु गरेको छ। सीमा क्षेत्रमा सहज आवागमनलाई कायम राख्दै अवैध गतिविधि नियन्त्रण, मानव बेचबिखन रोकथाम तथा सुरक्षा निकायबीच समन्वय गर्ने जिम्मेवारीसहित ( बिआईटी) परिचालन गरिएको हो।

सशस्त्र प्रहरीका अनुसार ( बिआईटी) ले सीमा नाकाबाट आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई आवश्यक सहजीकरण गर्दै शंकास्पद गतिविधिमाथि निगरानी राख्ने, स्थानीय प्रहरी, अध्यागमन, क्वारेन्टाइन तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्ने र आवश्यक सूचना आदानप्रदान गर्ने कार्य गर्दै आएको छ।

टोलीको मुख्य जिम्मेवारीमा सीमा पार गर्ने महिला, बालबालिका, वृद्ध तथा अन्य यात्रुलाई आवश्यक सहयोग गर्ने, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने, जाली नोट, लागूऔषध तथा प्रतिबन्धित वस्तुको अवैध ओसारपसार रोक्ने, अवैध गतिविधिसम्बन्धी सूचना संकलन गर्ने तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने रहेका छन्।

यस्तै, खुला सीमा नाकाको फाइदा उठाएर हुने अवैध आवागमन, आतंकवादी गतिविधि तथा शंकास्पद व्यवहार पहिचान गरी रोकथाम तथा नियन्त्रणमा समेत ( बिआईटी) ले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा सुरक्षा, सहज आवागमन र कानुनी शासनलाई सुदृढ बनाउन (बिआईटी) को परिचालन प्रभावकारी बन्दै गएको छ।