झापा ।  नेपाल–भारत सीमा क्षेत्रमा देखिएका साझा समस्या, पत्रकारितामार्फत तथ्यमा आधारित सूचना प्रवाह तथा दुई देशबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले इन्डो–नेपाल मिडिया फोरम गठन गरिएको छ।

समितिको भारततर्फका संयोजक प्रशान्त आचार्य र नेपालतर्फका संयोजक तीर्थ सिग्देल रहेका छन् । फोरमलाई शीघ्र विधिवत् दर्ता गरी सञ्चालन गर्ने तयारीस्वरूप नेपालतर्फ प्रविण अधिकारीलाई कोषाध्यक्ष तथा भारततर्फ चन्दन सिटोलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सोमबार काँकरभिट्टामा आयोजित कार्यक्रममा जानकारी गराएको छ ।

फोरमले सार्वजनिक गरेको उद्देश्यपत्रअनुसार नेपाल र भारतका सञ्चारकर्मीबीच समन्वय, सहकार्य र सूचना आदान–प्रदानलाई मजबुत बनाउने, सीमा क्षेत्रमा देखिएका साझा समस्या तथा जनचासोका विषयमा निष्पक्ष अध्ययन, अनुसन्धान र तथ्यमा आधारित समाचार सम्प्रेषणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी वन, वन्यजन्तु संरक्षण, जैविक विविधता, वातावरण संरक्षण, पर्यटन तथा मानव–वन्यजन्तु द्वन्द्वजस्ता साझा विषयमा संवाद र सहकार्यलाई प्रोत्साहन गर्ने, तस्करी, मानव बेचबिखन, लागूऔषध ओसारपसार तथा अन्य सीमापार अपराधविरुद्ध सञ्चार माध्यममार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसमेत समेटिएको छ।

फोरमले सीमा क्षेत्रमा बसोबास गर्ने समुदायका सामाजिक, सांस्कृतिक, आर्थिक तथा मानवीय सरोकारका विषयलाई उजागर गर्दै समाधानमुखी पत्रकारितालाई प्रोत्साहन गर्ने, नेपाल र भारतका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चार संस्थाबीच रचनात्मक संवादको साझा मञ्च उपलब्ध गराउने जनाएको छ।

सीमा क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत बहस, अध्ययन, अनुसन्धान तथा कूटनीतिक पहललाई सहयोग पुर्‍याउने, दुवै देशका सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला, अन्तरक्रिया, अध्ययन–भ्रमण तथा अनुभव आदान–प्रदानका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य पनि फोरमले लिएको छ।

यसका साथै नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक सञ्चारको विस्तार गर्ने, सीमा क्षेत्रमा शान्ति, सद्भाव, पारस्परिक विश्वास, सुरक्षित आवागमन र दिगो विकासको वातावरण निर्माणमा सञ्चार क्षेत्रमार्फत योगदान पुर्‍याउने तथा सीमा सम्बन्धी तथ्य, अभिलेख, अनुसन्धान सामग्री र पुस्तक प्रकाशन एवं दस्तावेजीकरण गर्ने उद्देश्यसमेत फोरमको रहेको छ ।

उद्देश्यपत्रमा समय–समयमा नेपाल र भारतमा संयुक्त अध्ययन–भ्रमण, अन्तरक्रिया, सम्मेलन तथा नीतिगत संवाद आयोजना गरी प्राप्त निष्कर्ष सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्दै कार्यान्वयनका लागि पहल गर्ने उल्लेख गरिएको छ ।

फोरमले आफूलाई पत्रकारहरूको सञ्जालमा मात्र सीमित नराखी नेपाल–भारत सीमा क्षेत्रका साझा समस्या समाधान, जनसरोकारका विषयमा नीतिगत संवाद तथा दुई देशबीच विश्वास अभिवृद्धि गर्ने प्रभावकारी नागरिक कूटनीतिको माध्यमका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ । यस उद्देश्यलाई कार्यान्वयन गर्न गत असार २७ गते संयुक्त समन्वय समिति गठन गरिएको थियो । प्रशान्त आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, इलाका प्रहरी कार्यालय काँकरभिटाका प्रहरी नायब निरीक्षक निशेष चापागाईं, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पर्यटन कार्यालय काँकरभिटाका प्रमुख छबिलाल खतिवडा, सूचना अधिकृत निरज कट्टेल, बबिता क्षेत्रीलगायत सम्बोधन गरेका थिए ।

यसैबीच नेपालका संयोजक सिग्देलले संस्था दर्ताको प्रक्रियामा अघि बढ्ने बताए । उनले संस्था दर्ता गर्नुअघि नेपालबाट इच्छुक सक्रिय पत्रकारलाई सदस्य बनाउने योजना रहेको समेत जानकारी दिए ।