झापा । नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्दा सेवाग्राही मारमा परेका छन् ।

भद्रपुरस्थित पूर्वको मेची प्रादेशिक अस्पताल देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प भएपछि मंगलबार अस्पताल पुगेका बिरामीले सास्ती भोग्नुपरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको हो । गत ८ साउनमा वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थकर्मीहरूमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न मागसहित चिकित्सक संघले विरोधस्वरुप अस्पताल बन्द गरेको हो । संघले दोषीलाई कारबाहीको माग गर्दा प्रहरीले उल्टै संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र संघको नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकलाई गालीगलौज तथा दुर्व्यवहार गरिएको भन्दै भत्सर्ना पनि गरेको छ ।

संघको आन्दोलनका कारण मंगलबार बिहानै स्वास्थ्योपचार लागि मेची प्रादेशिक अस्पताल पुगेका बिरामीहरुले टोकन लिएर बसेका थिए । एक घण्टापछि अस्पताल प्रशासनले सूचना टाँस गरेपछि  बिरामी उपचार नपाएर फर्कनु परेको थियो ।