झापा । गएराति झापा गाउँपालिकामा घरेलु हातहतियार खुकुरी र छुरीसहित आक्रमण गर्ने चारजना युवक पक्राउ परेका छन् । राति ११ बजे झापा गाउँपालिका ५ पुरानो शरणामति बस्ने २६ वर्षीय सुरेश हेमरममाथि आक्रमण गर्न वडा नं ६ शरणामति चन्द्रबस्ती बस्ने २० वर्षीय आकाश मुर्मुले सोही ठाउँ बस्ने १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर बि.क. र १८ वर्षीय रोहन कर्मकारलाई खुकुरी र छुरीसहित प्रहरीले पक्राउ गरेको हो । हेमरमको घरमा घेरा हालेर आक्रामण शैलीमा धम्क्याउने र आक्रमणको प्रयास गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी शरणामतिमा जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक चुक्तबहादुर बिष्टको कमाण्डमा र प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक तिर्थबहादुर भण्डारीको कमाण्डमा टोली आएर खुकुरी र छुरीसहित चारैजनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई इप्रका कुरमरखोदबाट थप अनुसन्धान तथा कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । 
सुरेश हेमरम र आकाश मुर्मुबिच फोनमा विवाद भएको थियो । सोही विवादलाई लिएर मुर्मुले ग्याङ लिएर हेमरमको घरमा आक्रमण गर्न आएका थिए ।