काँकरभिट्टा । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित अरुणोदय माध्यमिक विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा सोमबार एक शिक्षिकाको सड्न थालेको अवस्थामा शव फेला परेपछि घटनाले स्थानीय क्षेत्रलाई स्तब्ध बनाएको छ। घटनापछि उनका श्रीमान् तथा सोही विद्यालयका शिक्षक रतन गुप्ता फरार रहेकाले घटनाको रहस्य थप गहिरिएको छ । मृतक शिक्षिका कविता ढुंगाना रहेको प्रहरीले जनाएको छ । उनी सर्लाहीको लालबन्दी नगरपालिका–२, नेत्रगञ्जकी स्थायी बासिन्दा हुन् । विद्यालय परिसरमै रहेको एउटा कोठामा श्रीमान–श्रीमती दुवैलाई बसोबासको व्यवस्था गरिएको थियो।
विद्यालयकी सञ्चालक रिता थापाका अनुसार साउन ५ गतेदेखि विद्यालय बन्द र साउन ११ गते सोमबारदेखि पुनः सञ्चालन गरिएको थियो। सोमबार कोचिङ कक्षा मात्र सञ्चालन भइरहेका बेला दिउँसो करिब ३ बजे विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर लुईँटेलको व्हाट्सएपमा शिक्षक रतन गुप्ताबाट सन्देश आएको थियो।
सन्देशमा उनले, "श्रीमती ढुंगानाले कोठामा झुन्डिएर आत्महत्या गरिन्। मैले बोकेर यता सारेँ। डरले कसैलाई नभनी दुई वटा झोला बोकेर हिँडेँ। कोठा खोल्नु, भित्र शव छ। कानुनी प्रक्रिया पूरा गर्नु," भन्ने आशय उल्लेख गरेका थिए।
त्यसपछि विद्यालय प्रशासनले तत्काल प्रहरीलाई खबर गरेको थियो। प्रहरी पुगेर कोठाको ताला खोलेपछि शिक्षिका ढुंगानाको शव सड्न थालेको अवस्थामा फेला परेको हो।
स्थानीयका अनुसार शिक्षक रतन गुप्तालाई आइतबार साँझ करिब ५ बजेतिर दुई वटा झोला बोकेर विद्यालयबाट बाहिर निस्कँदै देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन छन्।
घटनापछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले घटनास्थलको मुचुल्का उठाउँदै अनुसन्धान अघि बढाएको छ। शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे विद्यालय परिवार पनि अन्योलमा परेको छ। श्रीमानले सन्देशमार्फत आत्महत्याको दाबी गरे पनि घटनाबारे तत्काल प्रहरीलाई जानकारी नदिई फरार हुनु शंकास्पद देखिएको भन्दै प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण र फरार रहेका रतन गुप्ताको खोजीपछि मात्रै स्पष्ट हुने जनाएको छ।






















































