दमक । झापाको गौरीगञ्जमा कारमा ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो गौरीगञ्ज–२ कृष्ण खोला छेउस्थित हुलाकी राजमार्गमा पश्चिम बिराटनगरबाट पूर्व तुलाचन चोकतर्फ आउँदै गरेको प्र१–०२–००२ च ५१०१ नम्बरको कार र बिपरीत दिशाबाट जाँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई ५ गोबिन्दपुर बस्ने ३० वर्षीय मोहम्मद नुर इस्लाम र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने ३५ वर्षीय एनबी मोजाबुल हक गम्भिर घाइते भएका थिए ।
मोटरसाइकल चालक इस्लामलाई दमक अस्पताल दमक पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । त्यस्तै मोटरसाइकलमा पछाडी सवार मोजाबुल हकलाई न्युरो अस्पताल बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा उनको पनि मृत्यु भएको हो । दुर्घटनापछि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा प्रहरी टोली खटिएर घाइतेहरुलाई अस्पताल पठाएको थियो । कार इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ । कार चालक बिराटनगर–१३ बस्ने ३५ वर्षीय विवेक सिंह पनि घाइते भएका छन् । उनको बिराट नर्सिङ होम अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















































