इलाम । पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य इलामको सूर्योदय नगरपालिकास्थित कन्यामामा पहिलोपटक ‘कन्याम भिलेज सफारी’ सञ्चालनमा ल्याइएको छ । कन्याम होटल व्यवसायी समूहको पहलमा सुरु भएको यो सफारी सेवाले कन्यामको हरियाली चिया बगान, वरपरका ग्रामीण बसोबास, स्थानीय संस्कृति तथा सुन्दर पहाडी परिवेशलाई नजिकबाट नियाल्ने अवसर पर्यटकलाई प्रदान गर्नेछ ।
यसअघि जिल्लामा यस्तो प्रकारको सफारी सेवा नरहेकाले यसलाई कन्यामको पर्यटन प्रवर्द्धनमा नयाँ प्रडक्ट थपेको छ । स्थानीय तथा पर्यटन व्यवसायीहरूले यो सेवा सुरु भएसँगै कन्यामको पर्यटकीय आकर्षण थप बढ्ने विश्वास व्यक्त गरेका छन् । कन्याम विश्वकै रमणीय चिया बगानमध्येमा पर्छ, जहाँ लामो क्षेत्रमा फैलिएको हराभरा चिया बगानको दृश्य, चिसो सिरेटो र शान्त वातावरणले वर्षभरि नै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । तर, हालसम्म पर्यटकले पैदल हिँडेर वा साधारण गाडीबाट मात्र यी दृश्यहरू नियाल्नुपर्ने बाध्यता थियो ।
यसले गर्दा धेरै पर्यटकले बगानका दुर्गम तथा उचाइका भागमा पुग्न नसकेको गुनासो गर्दै आएका थिए । भिलेज सफारीले भने पर्यटकलाई चिया बगानका भित्री तथा उचाइका भागसम्म मात्र नभई वरपरका गाउँसम्म भ्रमण गराउनेछ । सफारीले सुरक्षित रूपमा पुर्याई त्यहाँबाट देखिने फराकिलो र मनोरम दृश्य अवलोकन गराउने उद्देश्य राखेको कन्याम भिलेन कटेजका सञ्चालक टेकराज गिरीले बताए । कन्याम होटल व्यवसायी समूहका अनुसार यो सफारी सेवा केवल दृश्यावलोकनमै सीमित नरही कन्यामको ग्रामीण संस्कृति, गाउँले जनजीवन र न्यानो आतिथ्य अनुभव गराउने उद्देश्यका साथ अगाडि बढाइएको हो ।
सफारीका क्रममा पर्यटकले स्थानीयको दैनिक जीवनशैली, चिया खेतीको इतिहास र प्रक्रिया तथा क्षेत्रीय परम्परागत संस्कृतिबारे समेत नजिकबाट जानकारी पाउने बताइएको छ । यसका साथै सफारी सेवामा प्रयोग हुने सवारी साधन सञ्चालनदेखि गाइडसम्मको जिम्मेवारी स्थानीय युवालाई नै दिइएको हुँदा यसले स्थानीयस्तरमै प्रत्यक्ष रोजगारी र आयआर्जनको नयाँ बाटो खोलेको सञ्चालक गिरीको भनाइ छ । स्थानीय पर्यटन व्यवसायीले यस्तो पहलले कन्याममा थप एकदिन बसाइ लम्बिने बताइएको छ ।
पर्यटकले सफारीको अनुभव लिनका साथै वरपरका होटल, रिसोर्ट तथा होमस्टेमा बास बसी थप समय बिताउने सम्भावना रहेकाले यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । यो सेवाले सूर्योदय नगरपालिका र समग्र इलाम जिल्लाको पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउनेछ भने, आगामी दिनमा थप पर्यटकीय पूर्वाधार निर्माणमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
कन्याम होटल व्यवसायी समूहले सफारी सेवालाई थप व्यवस्थित र सुरक्षित बनाउँदै लामो समयसम्म दिगो रूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ । यसलाई सफल बनाउन स्थानीय तहको समन्वयमा पूर्वाधार विकास र प्रवर्द्धनात्मक गतिविधि थप विस्तार गर्ने तयारी थालिएको छ । ‘कन्यामको चिसो सिरेटो, गाउँले संस्कृति र न्यानो आतिथ्यसँगै एउटा सुन्दर यात्राको अनुभव दिने’ उद्देश्यका साथ सुरु भएको यो सफारी सेवा आगामी दिनमा इलामको पर्यटन क्षेत्रको नयाँ पहिचान बन्ने विश्वास सरोकारवालाको छ ।














































