झापा । यलम्बर टाइम्स साप्ताहिकले ‘खुवालुङ’ नामक विशेषांक शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ।
पत्रिकाका सम्पादक दिपिन राईका अनुसार किराती सभ्यता, संस्कृति र मुन्दुमी परम्पराको उद्गमस्थल मानिने खुवालुङलाई केन्द्रमा राखेर मुन्दुमी सन्देश प्रवाह गर्ने उद्देश्यले विशेषांक प्रकाशन गरिएको हो।
सम्पादक राईको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, पूर्व अर्थमन्त्री तथा नेकपा ९एमाले० कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो मौसम , नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, फोनिजका केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, किरात राई यायोक्खा झापा अध्यक्ष गणेशबहादुर राई, किरात याक्थुम चुम्लुङका केन्द्रीय सदस्य धर्म लक्सम्बा तथा अर्जुनधारा नगरपालिकाका पूर्वनगर प्रमुख हरिकुमार रानासहितका व्यक्तित्वले संयुक्त रूपमा विशेषांक विमोचन गरेका थिए ।
कार्यक्रममा यलम्बर टाइम्सकी लीला राईले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन राजन साम्पाङले गरेका थिए। विशेषांकमाथि लेखक तथा साहित्यकार कुमार भट्टराईले समीक्षा प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र राई, विशिष्ट अतिथि इन्द्र आङ्बो, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ मुनाराज शेर्मा तथा लेखक–साहित्यकार देसु बनेमले विशेषांकको सफलताको शुभकामना व्यक्त गर्दै खुवालुङले किरात सभ्यता, इतिहास र सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।



















































