झापा । प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति झापाले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार चुडामणि तिम्सिना (सिएम) लाई प्रदान गर्ने भएको छ ।
झापाको बिर्तामोडमा शुक्रबार आयोजित समितिको बैठकले दुइ दशकयता सक्रिय रुपमा पत्रकारिता पेशा गर्दै आएका ठोस खवर डट कमका सम्पादक तिम्सिनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । आगामी साउन ७ गते बिर्तामोडमा डि-कौडिन्यको स्मृति दिवसका दिन कार्यक्रमबीच पुरस्कार बितरण गर्ने भएको हो ।
यस पटक प्रदान गरिने पुरस्कारको राशी नगद ४२ हजार र सम्मानपत्र रहेको छ । पत्रकारित एक दशकअघि पाँच हजार राशीबाट सुरु गरेको पत्रकारिता पुरस्कारको राशी क्रमश : बढाएर गएको वर्षदेखि सेन्टरले नगद ४२ हजार पुर्याएको हो ।
प्रेस सेन्टर नेपालले यसअघि अग्रज पत्रकारहरु चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा, झुलन रेग्मी र उद्दव पुरीलाई पुरस्कार वितरण गरिसकेको छ ।बैठक पुष्प खड्काको अध्यक्षता तथा केन्द्रिय सदस्य राजु पाठकको आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।



















































