झापा । रकमको आधारमा मेचीनगर नगरपालिका झापा जिल्लाकै सबैभन्दा बढी बेरुजु हुने नगरको रुपमा रहेको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार झापाका १५ वटा स्थानीय तहमध्ये बेरुजु रकमको आधारमा मेचीनगर धेरै बेरुजु गर्ने नगरको रुपमा रहेको हो ।  प्रतिवेदनमा झापाका १५ स्थानीय तहमध्ये बजेटको आधारमा सबैभन्दा बढी बेरुजु बिर्तामोड नगरपालिकामा रहेको उल्लेख गरिएको छ ।गत आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएको रकममध्ये बिर्तामोड नगरपालिकामा ३ दशमलब २२ प्रतिशत १० करोड ७४ लाख २३ हजार रुपैयाँ बेरुजु फेला परेको हो । अघिल्ला वर्षहरूमा पनि बिर्तामोडमा उच्च बेरुजु देखिँदै आएको थियो । 
त्यस्तै, मेचीनगर नगरपालिकामा ३ दशमलव १९ प्रतिशत अर्थात् १४ करोड ९९ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको छ । रकमका आधारमा मेचीनगरमा बढी बेरुजु भए पनि प्रतिशतका आधारमा बिर्तामोड अगाडि रहेको प्रतिवेदनमा उल्लेख छ । 
कन्काई नगरपालिकामा ० दशमलव ७७ प्रतिशत अर्थात् १ करोड ७८ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ भने गौरादह नगरपालिकामा पनि ० दशमलकव ७७ प्रतिशत अर्थात् १ करोड ८३ लाख ९८ हजार रुपैयाँ बेरुजु रहेको छ । दमक नगरपालिकामा ०।९१ प्रतिशत अर्थात् ४ करोड १ लाख ७९ हजार रुपैयाँ, भद्रपुर नगरपालिकामा १ दशमलव ०५ प्रतिशत अर्थात् २ करोड ४४ लाख ८० हजार रुपैयाँ तथा शिवसताक्षी नगरपालिकामा ० दशमलव ८३ प्रतिशत अर्थात् २ करोड १८ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । Screenshot_20260717_112544_VN - Video Editor
त्यस्तै, कमल गाउँपालिकामा १ दशमलब ५७ प्रतिशत अर्थात् ३ करोड ११ लाख ९८ हजार रुपैयाँ बेरुजु रहेको छ भने गौरीगन्ज गाउँपालिकामा १ दशमलव ०४ प्रतिशत अर्थात् १ करोड २९ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ । बुद्धशान्ति गाउँपालिकामा १ दशमलब ३६ प्रतिशत अर्थात् २ करोड ५६ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ भने हल्दीबारी गाउँपालिकामा १ दशमलव ३३ प्रतिशत अर्थात् १ करोड ९६ लाख ४९ हजार रुपैयाँ बेरुजु रहेको छ । received_1581619096644817
त्यस्तै, बाह्रदशी गाउँपालिकामा सबैभन्दा कम ० दशमलव ४५ प्रतिशत अर्थात् ६३ लाख ३३ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार कानुनबमोजिम प्रक्रिया नपुर्‍याई गरिएको कारोबार, लेखा नराखिएको अवस्था वा अनियमित तरिकाले गरिएको खर्चलाई महालेखा परीक्षकले बेरुजुका रूपमा औंल्याउने गरेको छ ।
मेचीनगरमा ३५ दिने सूचना:
यसैबीच सबैभन्दा बढी करिव १५ करोड बेरुजु देखिएको मेचीनगर नगरपालिकाले ३५ दिनभित्रमा बेरुजु रकम दाखिला गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको छ । दाखिला नगरे जायजेथाबाट असुल गरिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत सुबास श्रेष्ठले सूचना जारी गर्दै नगरपालिकाको बेरुजु लागत उल्लेख भएका व्यक्ति, संघसंस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी र सरोकारवालाहरुलाई ३५ दिनभित्रमा नगरपालिकाको आर्थिक प्रशासन शाखा वा आन्तरिक लेखा परीक्षण शाखामा आई बेरुजुको रकम दाखिला गर्न वा फछर्यौटको प्रमाण पेश गर्न सूचित गरेका छन् । नियमित प्रकृयाबाट फछर्यौट नभएका बेरुजुहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७ र ४८ बमोजिम सरकारी बाँकीको रूपमा रही जायजेथाबाट असुल गरिने सूचनामा उल्लेख छ ।