काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापन नमान्ने पक्षबीच आआफ्नो अडानले पार्टीको आन्तरिक विवाद चरममा पुगेको छ । नियमित महाधिवेशन पक्षधर नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका र संस्थापनले कुनै प्रतिक्रिया नजनाउँदा दुई समूह मिल्ने छाँटकाट देखिएको छैन ।
पार्टीको आन्तरिक विवाद मिलाएर लैजाने विषयमा नियमित महाधिवेशन पक्ष लचक देखिएको छ । तर, नेतृत्वले कुनै प्रतिक्रिया नदिंदा उनीहरू निराश छन् ।
नियमित महाधिवेशन पक्षधर नेता मीन विश्वकर्माले पार्टी विभाजनको नजिक पुगिसकेको भन्दै चिन्ता व्यक्त गरे । “दाइ (पूर्णबहादुर खड्का) सँग मेरो भर्खरै टेलिफोन सम्पर्क भएको थियो । संस्थापन पक्षका कोहीसँग पनि भेटवार्ता नभएको उनले बताए । ९० प्रतिशत पार्टी विभाजनको रेखामा जाने भयो,” उनले भने ।
विराटनगर पुगेर कोइरालालाई भेटे महतले
संस्थापनइतर समूहबाट बीपी स्मृति दिवस कार्यक्रम तयारीको जिम्मा पाएका डा। प्रकाशशरण महतले विराटनगर पुगेर डा। शेखर कोइरालालाई भेटेका छन् । शनिबार (असार २७) विराटनगरस्थित कोइरालानिवासमा दुई नेताबीच भेटवार्ता भएको शेखरका स्वकीयसचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
“डा. साब (शेखर कोइराला) विराटनगरमा हुनुहुन्छ, म काठमाडौंमा छु । ठ्याक्कै छलफलको विषयका बारेमा मलाई पनि खासै जानकारी छैन,” थपलियाले भने, “तर, बीपी स्मृति दिवसको तयारीका विषयमा दुवै नेताबीच छलफल भएको हुनसक्छ ।”
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले डा. कोइरालासँग केही दिनअघि भेटवार्ता गर्दा विवाद मिलाउन यही असार २५ गतेसम्मको समय दिएका थिए । असार २८ भइसक्दा पनि संस्थापन पक्षले यसबारे कुनै प्रतिक्रिया नजनाएको उनको भनाइ छ ।
थपलियाले भने, “त्यसपछि केही भएको छैन । अब आगामी रणनीति तय गरेरै अगाडि बढ्नुहुन्छ होला ।”
भेलाको टुंगो लगाउने तयारी गरेको हो ।
“साउन ६ गते बीपी स्मृति दिवस मनाउने तयारी भइरहेको छ । ६ गते नै हामी राष्ट्रिय भेलाको मिति तय गर्ने पक्षमा छौँ,” नेता विमलेन्द्र निधिले भने, “साउनभित्रै राष्ट्रिय भेला गर्ने तयारी छ ।”
गएको जेठ १६ गते कांग्रेस उपसभापति शर्माले मिलेर अघि बढ्न भन्दै इतर समूहसमक्ष एउटा प्रस्ताव पठाएका थिए । त्यो गुपचुप थियो । तर, इतर समूहले उनको प्रस्तावमा केही प्रतिक्रिया नजनाएपछि आफैँले जेठ ३१ गते प्रस्ताव सार्वजनिक गरेका थिए ।
त्यसपछि नेता डा.कोइरालाले नेतृत्वसमक्ष पाँच बुँदे प्रस्ताव पठाएका थिए । पूर्वकार्यवाहक सभापति खड्काले पनि आठ बुँदे प्रस्ताव पठाए । त्यसयता संस्थापनले कुनै प्रतिक्रिया नजनाएको नेताहरू बताउँछन् ।
यही असार २२ देखि २४ गतेसम्म बसेको इतर समूहको बैठकमा धारणा राख्ने अधिकांश नेता–कार्यकर्ताले समेत वैकल्पिक मार्गतर्फ अघि बढ्न शीर्ष नेतालाई सुझाव दिएका थिए । अबको ‘रोडम्याप’ तय गर्न पनि शीर्ष नेतालाई नै जिम्मा दिइएको छ ।



















































