चारआली । निर्माणाधीन पेट्रोलियम पाइपलाइन परियोजनाले स्थानीयसँग पानीको प्राकृतिक निकासमा अवरुद्ध नगर्ने सहमति गरेको छ । चारआली-शिलिगुढी पाइपलाईन परियोजना निर्माणका क्रममा नहरको पानी बग्न अवरुद्ध गर्दा स्थानीय धान रोप्ने खेत जलमग्न भएपछि किसानहरु सोमबार वडा कार्यालयमा डेलिगेसन पुगेका थिए ।
डेलिगेशनपछि मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको नेतृत्वमा निर्माणाधीन पाइपलाईन परियोजनास्थलमा पुगेर त्रिपक्षीय छलफल भएको थियो । छलफलमा धान रोप्न नपाएका आक्रोशित किसान, जनप्रतिनिधि र निगमबीच पानीलाई निकास दिने सहमति भएको हो ।
निगमका कर्मचारी भरत साउद, वडा कार्यालयका वडाध्यक्ष सिग्देल र ५० जनाबढी स्थानीयबीच तत्काल अस्थायी रुपमा सामाधान गर्ने सहमति भएको मेचीनगर-१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।
सो क्रममा पाइपलाइन निर्माणका क्रममा पानी बग्ने प्राकृतिक निकास बन्द गरिएकाले वर्षायाममा खेत डुबानमा पर्न थालेको र रोपाइँ गरिएको धानबाली जोखिममा पर्ने गुनासो स्थानीयले गरेका थिए ।
छलफलमा किसानहरूले पानीको उचित निकासको व्यवस्था नगरी निर्माण कार्य अघि बढाउँदा खेतीयोग्य जमिनमा प्रत्यक्ष असर परेको भन्दै तत्काल प्राविधिक अध्ययन गरेर निकास व्यवस्थापन गर्न निगमलाई दवाद दिनुपर्ने स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थिए । नेपाल आयल निगम, निर्माण कम्पनी तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल अस्थायी रुपमा र पछि स्थायी रुपमा पानीको निकासको पहल गर्ने प्रतिबद्धता जनाएको छ।
पानीको निकास बन्द गर्दा स्थानीयको सयौं बिघा खेतीयोग्य जमिनसहित गाउँनै डुबानमा पर्ने अवस्था आएको थियो । हाल पानीको छलफलपछि निकास खोलिएको छ ।





















































